जनता टाइम्स

३० बैशाख २०७६, सोमबार १०:५४

अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न


काठमाण्डौं, बैशाख ३०

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

पाँचौ ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा आयोजित कार्यक्रममा सांसद डा. डिला संग्रौलाले मुख्य वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

त्यसैगरी एसएई इन्डियाका कोषाध्यक्ष कमल किशोर छगनलाल भोराले सेफ, स्मार्ट एन्ड सस्टेनेबल मोबिलिटी शीर्षकमा, नासाका महासचिव गोविन्द भट्टराईले पाँचौ ग्लोबल रोड सेफ्टी विकको बारे, ई. प्रेम लामाले वर्कसप व्यवस्थापन बारे, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोल्यान्ड शिर्षकमा, नेपाल मोटरसाइकल फेडरेसनका सचिव सन्तोष न्यौपानेले इन्टरनेसनल ड्राइभिङ परमिट शीर्षकमा, काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवालले प्यासेन्जर कारमा स्पेस कुलिङको सम्भावना वारेमा र सीटीईभीटीकी प्रतिनिधि इन्जिनियर निशी श्रेष्ठले अटोमोटिभ एजुकेसन सम्बन्धी शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

१५० जनाको सहभागिता रहेको सो दुई दिने सम्मेलनको पहिलो दिन हिजो कुल १० वटा कार्यपत्र प्रस्तुत भएका थिए । अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कार्यक्रमको समुदघाटन गरेका थिए ।

एसएई इन्डियाका कोषाध्यक्ष कमलकिशोर छगनलाल भोरा, साझा यातायातका चेयरपर्सन कनकमणि दीक्षित , नासाका महासचिव गोविन्द भट्टराई, पूर्व मन्त्री गणेश साह, काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा.ड्यानियल तुलाधर तथा सफल उद्यमी कपिल शिवाकोटी किनोट स्पिकरको रुपमा सहभागी भएका थिए ।

यातायात व्यवस्था विभागका बरिष्ठ इन्जिनियर रामचन्द्र पौडेल, आईएई नेपालका महासचिव बाशुदेव तिमिल्सिना, दीगोका प्रतिनिधि अस्मित बजगाईं, इलेक्ट्रिक भेइकल एसोसिएसनका अध्यक्ष उमेश श्रेष्ठ र अन्तर्राष्ट्रिय पेशागत स्वास्थ्य संगठनका सदस्य युबराज भट्टले अतिथि वक्ताको रुपमा प्रस्तुति गरेका थिए ।

उक्त गैरनाफामूलक कार्यक्रममा हिट्को लगायत विभिन्न अटोमोबाइल कम्पनी, लुब्रिकेन्ट कम्पनी, इन्स्योरेन्स कम्पनीको पनि सहयोग रहेको थियो ।