जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार १९:४८

प्रहरी पोशाक खरिद प्रकरण : मङ्सिर १ देखि बयान लिने तयारी


काठमाडौं, कात्तिक १२ । निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे छानबिन गरिरहेको उपसमितिले मङ्सिर १ गतेदेखि सरोकारवालासँग बयान लिने तयारी गरेको छ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गत गठित छानबिन उपसमितिले नेपाल प्रहरीले बुझाएका कागजात अध्ययन गरिरहेको छ। कात्तिक मसान्तसम्म कागजात अध्ययन सकेर मङ्सिर १ देखि बयान प्रक्रिया अघि बढाउने तयारी रहेको उपसमितिका संयोजक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जानकारी दिनुभएको छ।

गएको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भर्ना गरेका निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भनिएपछि समितिले उपसमिति गठन गरेर छानबिन अघि बढाएको हो।

उपसमितिमा नेपाल प्रहरीका एक लाख ३० हजार र सशस्त्र प्रहरीका १५ हजार निर्वाचन प्रहरीसँग सम्बन्धित बैंकिङ कारोबारका विवरणसहित एक बोरा कागजात प्राप्त भएको छ। संयोजक झाका अनुसार मङ्सिर १ देखि १५ गतेसम्म सरोकारवालासँग बयान लिने, विज्ञको राय लिने र कानुनी परामर्श गर्ने काम हुनेछ।

सूचना दुरुपयोग तथा कागजातमा सम्भावित हेरफेर रोक्न सिंहदरबारस्थित समितिको बैठक कक्षमा सीसीटीभी निगरानीबीच मात्रै कागजात अध्ययन गर्ने व्यवस्था मिलाइएको छ।

६० दिनको कार्यअवधि पाएको उपसमितिले निर्धारित समयभित्र छानबिन पूरा गर्ने जनाएको छ। उपसमितिले अन्तिम पाँच दिन प्रतिवेदन लेखनमा खर्च गर्ने तयारी गरेको छ।