जनता टाइम्स

१३ कार्तिक २०८३, शुक्रबार २२:२९

लाजै पचाएर प्रधानमन्त्रीको सचिवालयले भन्यो– पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन, सञ्चारमन्त्रीले भने– सबै पत्रकार छुटिसके


काठमाडौं, कात्तिक १३। सञ्चारगृहमा छापा मारिएको र पत्रकारहरू पक्राउ परेको घटनाप्रति चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयले उक्त घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएको छ। यता सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको दाबी गर्नुभएको छ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको र घटनाबारे पूर्वजानकारीसमेत नभएको स्पष्ट पार्नुभएको छ।

दाहालले घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री बालेन्द्र साहले सम्बन्धित निकायलाई तत्काल पत्रकारहरू रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न स्पष्ट निर्देशन दिइसक्नुभएको जानकारी गराउनुभएको छ। उहाँले भन्नुभएको छ, “पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत प्राप्त नभएको स्पष्ट पारिन्छ।”

यसैबीच, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको बताउनुभएको छ। मन्त्री तिमल्सिनाले भन्नुभएको छ, “पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।”

प्रधानमन्त्रीको सचिवालयले घटनाबारे अनभिज्ञता र संलग्नता नरहेको स्पष्टीकरण दिइरहँदा सञ्चारमन्त्रीले भने सबै पत्रकार रिहा भइसकेको बताउनुभएको छ। पत्रकार पक्राउ, समाचार कक्षमा धरपकड र त्यसपछि सरकारका तर्फबाट आएका यी स्पष्टीकरणले घटनालाई थप रहस्यमय बनाएको छ ।