काठमाडौं, कात्तिक १३ । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ गरिएका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ ।
आज पक्राउ परेका सुवेदीलाई केहीबेरअघि नेपाल प्रहरीको साइबर ब्यूरोले रिहा गरेको हो । प्रहरीले उहाँलाई पक्राउ गरेर नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिएको थियो ।
यसैक्रममा नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत साइबर ब्यूरोमा बोलाएर सोधपुछ गरिएको थियो । प्रधानसम्पादक पौडेलले समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउँदै स्रोत खुलाउन भने अस्वीकार गर्नुभएको थियो ।
यसैबीच प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री तथा उहाँको सचिवालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे प्रधानमन्त्री र उहाँको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत प्राप्त नभएको स्पष्ट पारिन्छ।’
दाहालका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुभएको थियो ।
यस्तै, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पनि पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिनुभएको छ । उहाँले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ, ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’
यद्यपि, पत्रकारहरूलाई किन पक्राउ गरिएको थियो र पछि किन रिहा गरियो भन्नेबारे मन्त्री तिमल्सिनाले आफ्नो वक्तव्यमा केही खुलाउनुभएको छैन ।
आज पत्रकार सुवेदीलाई सञ्चारगृहभित्रै प्रवेश गरेर पक्राउ गरिएको थियो । त्यस्तै, नयाँ पत्रिका र दियोपोष्ट कार्यालयमा समेत सादा पोसाकका प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।
प्रधानमन्त्रीको सचिवालय र सञ्चारमन्त्रीले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको जनाए पनि सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्ने प्रयासमा संलग्न प्रहरीमाथि कारबाही गर्ने विषयमा भने कुनै धारणा सार्वजनिक गरेका छैनन् ।














प्रतिक्रिया दिनुहोस्