काठमाडौं, कात्तिक १३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने प्रहरीको कार्यप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार सामग्रीप्रति कसैको विमति वा कानुनी प्रश्न भए त्यसको निरूपण स्थापित कानुनी प्रक्रिया र वैधानिक निकायमार्फत हुनुपर्ने बताउनु भएकाे छ । ‘स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कदमलाई कुनै पनि अर्थमा न्यायोचित मान्न सकिँदैन।’
रास्वपाले प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको उल्लेख गरेको छ। समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु पत्रकारको व्यावसायिक अधिकार, दायित्व र पेशागत धर्म भएको पनि पार्टीको भनाइ छ।
प्रकाशित समाचारप्रति गुनासो वा विमति भए त्यसको परीक्षण र निरूपणका लागि राज्यले निश्चित कानुनी तथा न्यायिक प्रक्रिया स्थापित गरेको भन्दै रास्वपाले त्यसलाई बेवास्ता गरेर पत्रकारमाथि धरपकड गर्नु अस्वीकार्य रहेको जनाएको छ।
पार्टीले पत्रकार पक्राउ र खोजीसम्बन्धी घटनाको निष्पक्ष तथा पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। ‘जुनसुकै आवरण वा बहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, मनोवैज्ञानिक दबाबमा राख्ने वा सङ्कुचित गर्ने प्रयासहरू स्वीकार्य छैनन्,’ विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठाको पत्रकारिता जारी राख्न सञ्चारकर्मीलाई आह्वान गर्दै सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको छ।
सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षामा आफ्नो अडान सम्झौताहीन रहने उल्लेख गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि अग्रमोर्चामा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्