काठमाडौं, कात्तिक १३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएकाे छ ।
विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र चौतर्फी दबाबपछि मात्र रिहा गर्ने घटनाप्रति आपत्ति जनाउँदै थापाले कानुनविपरीत पक्राउ तथा पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनु भएकाे हाे ।
शुक्रबार विज्ञप्ति जारी गर्दै उहाँले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको टिप्पणी गर्नु भएकाे छ । ‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ,’ थापाले विज्ञप्तिमा भन्नुभएकाे छ ।
विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धावा बोलिएका घटना स्मरण गराउँदै उहाँले त्यस्तै प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको बताउनु भएकाे छ । कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको पक्षमा उभिँदै आएको उल्लेख गर्दै थापाले निरङ्कुश र स्वेच्छाचारी कदमविरुद्ध आफ्नो पार्टी निरन्तर उभिने बताउनुभएकाे छ ।
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै उहाँले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपण प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाबाट हुनुपर्नेमा जोड दिनुभएकाे छ । ‘ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (Rule of Law) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (Rule by Law) तर्फ उन्मुख हुनु हो,’ विज्ञप्तिमा भनिएको छ।
पत्रकार तथा सञ्चारमाध्यममाथि गरिएको प्रहरी हस्तक्षेपलाई दमनकारी कदमको संज्ञा दिँदै कांग्रेसले घटनाको घोर भत्र्सना गरेको छ।
थापाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गर्नु भएकाे छ ।















प्रतिक्रिया दिनुहोस्