जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार १३:२२

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा उछाल : २५ सय २२ प्रतिशतले बढ्यो खुद नाफा, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार


काठमाडौं, कात्तिक १५ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा १ अर्ब १८ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ सय २२ प्रतिशतले बढेको हो । एनआइएमबी बैंकले गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ४ करोड ५० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यसको तुलनामा चालु आवको पहिलो तीन महिनामा बैंकको नाफामा उल्लेख्य वृद्धि भएको हो ।

चालु आवको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी तीन अर्ब २७ करोड १६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशनबाट ५९ करोड २१ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ३४ करोड ९४ लाख ७९ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ६९ करोड ७ लाख ५ हजार रुपैयाँ रहेको छ । यद्यपि, बैंकको वितरणयोग्य नाफा भने ५ अर्ब १६ करोड १६ लाख ३० हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

निक्षेप र कर्जा दुवै बढे

असोज मसान्तसम्म एनआइएमबी बैंकको निक्षेप संकलन १०.७५ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोजसम्म बैंकले ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

यसैगरी, बैंकको कर्जा प्रवाह ०.३३ प्रतिशतले बढेर ३ खर्ब २२ अर्ब ४१ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ६६.७३ प्रतिशत कायम भएको छ ।

प्रतिशेयर आम्दानीमा पनि सुधार

एनआइएमबी बैंकको प्रतिशेयर आम्दानी उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ०.५३ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी चालु आवको सोही अवधिमा बढेर १३.८५ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८९ गुणा कायम भएको छ ।