बाँके, कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आज बिहान भीषण आगलागी हुँदा आठ जना मजदुर घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्य ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्किट सर्ट भएपछि अचानक आगलागी भएको थियो। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ।
आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो। आगलागीमा घाइते हुनेहरूमा बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन्।
त्यस्तै, भारतको बहराइच जिल्ला कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद पनि घाइते भएका छन्।
घाइतेमध्ये शिवप्रसाद चमार र रामदिन हरिजनको अवस्था मध्यम रहेको छ भने बाँकी छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मध्यम अवस्था रहेका दुवै जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।
आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक गरी तीनवटा दमकल परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
आगलागीबाट कम्पनीमा भएको भौतिक तथा अन्य क्षतिको विस्तृत विवरण भने खुल्न बाँकी रहेको छ।














प्रतिक्रिया दिनुहोस्