जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार १३:२५

अधुरो गुम्बा पूरा गर्ने अठोटका साथ सहयाेग जुटाउन लाग्यो गुम्बा परिवार


रामेछाप, कात्तिक १५। दोरम्बा शैलुङ गाउँपालिका–१, पात्लेमा निर्माणाधीन तासी छ्योलिङ गुम्बा सम्पन्न गर्न आर्थिक स्रोतको अभाव देखिएपछि गुम्बा परिवार नै सहयोग जुटाउन अग्रसर भएको छ।

गुम्बा निर्माणलाई अधुरै छाड्न नहुने संकल्पसहित गुम्बा परिवारको भेला बसेको हो। भेलामा निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्ने विषयमा छलफल गर्दै परिवारका सबै सदस्यले आ–आफ्नो आर्थिक क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

गुम्बा निर्माणका लागि बाह्य सहयोगको मात्र प्रतीक्षा नगरी आफ्नै तर्फबाट पनि आर्थिक तथा सामूहिक योगदान जुटाउने उद्देश्यले परिवारका सदस्यहरू एकजुट भएका स्थानीय छिरिङ लामाले जानकारी दिनुभयो । 

आर्थिक अभावले निर्माणको चुनौती बने पनि आपसी एकता, सहकार्य र साझा प्रतिबद्धताले गुम्बा निर्माणलाई पूर्णता दिन सकिने विश्वास परिवारले व्यक्त गरेको छ।

आफ्नो आस्था, संस्कृति र पहिचानसँग जोडिएको गुम्बा निर्माण सम्पन्न गर्ने अभियानमा परिवार आफैँ जुट्नुले सामूहिक एकता र अपनत्वको सन्देश दिएको छ ।