तर, जब यो ईर्ष्या नियन्त्रण बाहिर जान्छ, यसले हाम्रो व्यवहारमा नकारात्मक परिवर्तन ल्याउँछ । यसले सहकर्मीसँगको सम्बन्ध बिगार्ने मात्र होइन, आफैलाई पनि भित्रभित्रै हानि गर्छ
डा. रक्षा थापा (उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
सहकर्मीको सफलता देख्दा मनमा असहजता आउनु सामान्य कुरा हो । धेरैजसो मानिसहरू आफ्नो करियरको कुनै न कुनै मोडमा यो भावनाबाट गुज्रिएका हुन्छन्। कार्यस्थल, केवल काम गर्ने ठाउँ मात्र होइन, यो सामाजिक अन्तर्क्रिया र प्रतिस्पर्धाको केन्द्र पनि हो ।
जब हाम्रै साथमा काम गर्ने कुनै सहकर्मीले पदोन्नति, प्रशंसा वा ठूलो सफलता प्राप्त गर्छ, तब मनमा खुसीभन्दा बढी एक प्रकारको असहजता, खिन्नता वा ईर्ष्या उत्पन्न हुन सक्छ । यो भावनालाई मनोविश्लेषणमा ‘प्रतिस्पर्धात्मक ईर्ष्या’ भनिन्छ। चिकित्सा र मनोविज्ञानको भाषामा यसलाई ‘सामाजिक तुलना’ भनिन्छ, जुन मानव मस्तिष्कको एक प्राकृतिक प्रक्रिया हो ।असहजतालाई तुरुन्तै ‘डाह’ को नाम दिनु सही हैन न न्यायोचित हो ।
‘कतै तपाईं सहकर्मीको ईर्ष्याले जलिरहनुभएको त छैन ?’ भन्ने प्रश्नले आत्मपरीक्षणको ढोका खोल्छ; तर उही प्रश्नले जटिल मानवीय भावना र कार्यस्थलका संरचनागत समस्यालाई एक व्यक्तिको चरित्रदोषमा खुम्च्याउने जोखिम पनि बोक्छ । ईर्ष्यालाई तीन कोणबाट हेर्दा : मनोविज्ञान (भावना कसरी जन्मन्छ), दर्शन (त्यसलाई कसरी मूल्याङ्कन र व्यवस्थापन गर्ने) र विज्ञान (हामी के भन्न सक्छौँ र के भन्न के भन्न सक्दैनौँ ) मा अलग विश्लेषण पाइएको छ ।
मनोविज्ञान: तुलना, आत्मसम्मान र ईर्ष्याका दुई रूप
मनोवैज्ञानिक लियोन फेस्टिङ्गरले प्रस्ताव गरेको सामाजिक तुलना सिद्धान्त अनुसार मानिस आफ्नो क्षमता नाप्न अरूसँग तुलना गर्छ । उनको मूल भनाइ मानिसभित्र आफ्ना विचार र क्षमताको मूल्याङ्कन गर्ने आन्तरिक चाहना हुन्छ । तुलना सबैभन्दा तीव्र हुन्छ; आफूजस्तै पद, पृष्ठभूमि र सीप भएको व्यक्तिसँग ।
त्यसैले एउटै तहका सहकर्मीको बढुवा आफ्नै सम्भावनाको ऐना जस्तो लाग्छ।तेस्तै,नेदरल्यान्ड्सका अनुसन्धानकर्ता निल्स भान डे भेन र सहलेखकहरूले ईर्ष्या ‘हितकर’ र ‘विद्वेषपूर्ण’ ‘हुने भनी छुट्याएका छन् । पहिलोले ‘म पनि त्यहाँ पुग्न के गरूँ ?’ भन्ने प्रेरणा दिन्छ; दोस्रोले ‘उसलाई तल झार्नुपर्छ’ भन्ने इच्छा जगाउँछ । भावना एउटै देखिए पनि दिशा फरक हुन्छ; यसैले भावना हुनु र हानिकारक व्यवहार गर्नु एउटै कुरा होइन।ईर्ष्या र अन्यायबोध फरक कुरा हुन् ।
सबै असन्तुष्टि ईर्ष्या होइन, श्रेय अरूले लिएको, बढुवामा पक्षपात भएको वा तलब असमान भएको अवस्थामा आउने रिस वास्तविक अन्यायप्रतिको प्रतिक्रिया हुन सक्छ । जे. स्टेसी एडम्सको समता सिद्धान्तले देखाउँछ कि मानिसले आफ्नो योगदान र प्राप्तिको अनुपातलाई अरूको अनुपातसँग तुलना गर्छ, र असमानता देखेपछि असन्तुष्टि उत्पन्न हुन्छ ।
यी सिद्धान्तहरू धेरै हदसम्म पश्चिमी अध्ययनमा आधारित छन्, नेपाली कार्य स्थलमा पदानुक्रम, चिनजान र सामाजिक प्रतिष्ठाको भूमिका बढी हुन सक्छ, जसले तुलनाको स्वरूप फेर्न सक्छ । त्यसैले यी निष्कर्षलाई यहाँ प्रत्यक्ष लागू गर्नुअघि स्थानीय सन्दर्भमा परीक्षण आवश्यक छ ।
दर्शन: सद्गुण, आत्मसंयम, र न्याय
अरस्तुले भाषण कलामा ईर्ष्यालाई आफूजस्तै स्थितिका मानिसको सौभाग्य देख्दा हुने पीडाका रूपमा वर्णन गरेका छन् । उनको सद्गुण-दृष्टिमा असल चरित्र भनेको भावनाविहीनता होइन, भावनालाई विवेकले सन्तुलनमा राख्ने क्षमता हो । क्षणिक असहजता मानवीय हो, त्यसलाई अपमान, झूट वा तोडफोडमा बदल्नु नैतिक दोष भनेर लिन सकिन्छ । केही कुरा हाम्रो नियन्त्रणमा छन्, केही छैनन् ।
सहकर्मीले पुरस्कार पाउँछन् कि पाउँदैनन् भन्ने कुरा हाम्रो हातमा छैन, आफ्नो सीप, प्रयास, प्रतिक्रिया माग्ने र निष्पक्ष अवसरका लागि बोल्ने काम हाम्रो हातमा छ र यसले अनावश्यक तुलना घटाउँछ । आत्मसंयम र न्यायका लागि आवाज उठाउनु विरोधी हुनु होइन । बौद्ध परम्परामा लोभ, द्वेष र मोहलाई दुःखका जड मानिन्छ । ईर्ष्याको औषधिका रूपमा अरूको सफलतामा हर्ष गर्ने अभ्यास अघि सारिन्छ । विचार प्रणालीको पहिलो गुण सत्य हो भने सामाजिक संस्थाको पहिलो गुण न्याय हो ।यसले कार्यस्थलमा ईर्ष्याको चर्चा गर्दा व्यक्तिको मन मात्र होइन, संस्थाको निष्पक्षता पनि जाँच्नुपर्छ ।
विज्ञान: प्रमाणको शक्ति र सीमा
अनुसन्धानले, सामाजिक तुलना र ईर्ष्या बीच सम्बन्ध देखाएको छ, विशेषगरी समान पद वा पृष्ठभूमिका व्यक्ति बीच; साथै हितकर र विद्वेषपूर्ण ईर्ष्याका फरक परिणाम पनि अध्ययनमा देखिएका छन् । तर यी निष्कर्ष सम्भावित प्रवृत्ति हुन् । सहकर्मीको प्रशंसामा कोही चुप लाग्यो भने त्यो ईर्ष्या, थकान, असहमति वा स्वभाव पनि हुन सक्छ, अरूको मनसाय अनुमान गर्नु संज्ञानात्मक मनोविज्ञानले चिनेको सोचाइको त्रुटि हो, हामी अरूको भित्री कारण निश्चित रूपमा जान्न सक्दैनौँ ।
ईर्ष्याले मस्तिष्कको भावना नियन्त्रण गर्ने भाग सक्रिय हुन्छ र तर्क तथा निर्णय गर्ने भागले काम गर्न छोड्छ । ईर्ष्या पहिचान गर्न एउटा संकेत होइन,निरन्तर व्यवहारको ढाँचा, सन्दर्भ र सम्बन्धित व्यक्तिले आफैँ दिने व्याख्या हेर्नुपर्छ । अर्काको मूल्याङ्कनका लागि भने सबैभन्दा सावधानी उपयुक्त हुन्छ।अरूको कमजोरी खोज्न सजिलो छ; आफ्नो असुरक्षा, प्रतिस्पर्धाको डर र मान्यताको चाहना स्वीकार्न गाह्रो । यो प्रश्नले आफूलाई जाँच्न बाध्य बनाउँछ,जुन आत्मज्ञानको पहिलो खुड्किलो हो । असहमति जनाउने वा अन्याय औँल्याउने व्यक्तिलाई ‘डाहले जलेको’ भनेर मानिन्छ, कार्यस्थलमा ईर्ष्या बढ्ने कारण केवल व्यक्तिको मनोवृत्ति होइन।
देहायका अवस्थाले सहकर्मीलाई एकअर्काका प्रतिद्वन्द्वी बनाउँछन्, अस्पष्ट बढुवा मापदण्ड, सीमित पुरस्कार र अपारदर्शी मूल्याङ्कन, व्यवस्थापकको पक्षपात र श्रेय बाँडफाँटमा असमानता । संस्थाले सहकार्यभन्दा व्यक्तिगत प्रतिस्पर्धालाई बढी पुरस्कृत गर्छ भने ईर्ष्या बढ्नु आश्चर्यको कुरा होइन ।
त्यसैले समाधान नैतिक उपदेशमा मात्र सीमित हुनु हुँदैन, निष्पक्ष प्रक्रिया, स्पष्ट अपेक्षा र योगदानको पारदर्शी मान्यता पनि चाहिन्छ। ‘सबै दोष संरचनाको’ भन्ने निष्कर्ष पनि उत्तिकै अपूर्ण हो, एउटै प्रणालीमा काम गर्ने मानिसहरूले फरक प्रतिक्रिया देखाउँछन्, जसले व्यक्तिगत जिम्मेवारी पनि रहन्छ भन्ने देखाउँछ। प्रायः दुवैको मिश्रण हुन्छ, र प्रत्येक घटनामा सन्तुलन फरक हुन्छ।
आफूमा ईर्ष्या होला कि भन्ने शङ्का लागे यी प्रश्न सोध्न सकिन्छ: सहकर्मीको सफलताले मलाई ठ्याक्कै कुन कुरामा चोट पुर्यायो?म अवसर गुम्ने डरमा छु, आफूलाई कम मूल्यवान् ठानिरहेको छु, वा वास्तवमै अन्याय भएको छ? मेरो प्रतिक्रिया प्रमाणमा आधारित छ कि अनुमानमा? त्यसपछिका कदम: भावनालाई नाम दिने (ईर्ष्या, लज्जा, डर वा रिस),आफ्नो लक्ष्य स्पष्ट पार्ने, सहकर्मीबाट सिक्न सकिने सीप पहिचान गर्ने, अन्याय देखिए तथ्य र उदाहरणसहित व्यवस्थापकसँग संवाद गर्ने, बढुवा र मूल्याङ्कनका मापदण्ड लिखित र पारदर्शी बनाउने, योगदानको श्रेय स्पष्ट रूपमा दिने, र गुनासो गर्नेलाई नराम्रो/ डाढे भनेर नहेर्ने संस्कृति निर्माण गर्ने।
तसर्थ, सहकर्मीको सफलताप्रति असहज हुनु स्वतः नैतिक असफलता होइन। महत्त्वपूर्ण कुरा: भावनालाई बुझ्ने र त्यसले आफ्नो व्यवहारलाई कसरी प्रभावित गर्छ भन्नेमा जिम्मेवारी लिने हो । मनोविज्ञानले प्रक्रिया बुझाउँछ, दर्शनले संयम र न्यायको प्रश्न उठाउँछ, विज्ञानले निष्कर्षको सीमा सम्झाउँछ । अरूको सफलतालाई आफ्नो मूल्यको अन्तिम फैसला नमानौँ, र हरेक आलोचनालाई ईर्ष्या भनेर पनि नपन्छाऔँ। थोरै इर्ष्या वा असहजताले हामीलाई अझ राम्रो गर्ने उर्जा दिन सक्छ, तर यदि यसले सधैं तनाव दिन्छ भने आफ्नो सोचको दिशा बदल्ने प्रयास गर्नु उपयुक्त हुन्छ । सहकर्मीको सफलतामा मनमा असहजता आउनु सामान्य र प्राकृतिक हो ।
यो भावना आफैंमा सकारात्मक वा नकारात्मक हुँदैन, तर हामी यसलाई कसरी प्रतिक्रिया दिन्छौं भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यदि हामीले यस असहजतालाई आत्म-मूल्याङ्कन र व्यक्तिगत वृद्धिको माध्यम बनाउन सक्यौं भने यसले हाम्रो करियरलाई अझ उचाइमा पुर्याउन मद्दत गर्छ ।
तर, जब यो ईर्ष्या नियन्त्रण बाहिर जान्छ, यसले हाम्रो व्यवहारमा नकारात्मक परिवर्तन ल्याउँछ । यसले सहकर्मीसँगको सम्बन्ध बिगार्ने मात्र होइन, आफैलाई पनि भित्रभित्रै हानि गर्छ। समयमै बुझेर, समाज र व्यक्तिप्रति सकारात्मक सोच, आचरण र व्यवहार प्रदर्शन गरी जीवनलाई सही दिशामा लैजान र सम्बन्धहरूलाई बलियो बनाउन उपयुक्त हुन्छ।














प्रतिक्रिया दिनुहोस्