जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार १२:२७

दबाबमा होइन हितमा हेरेर सहयोग स्विकार गर्नु उचित – चीन


काठमाडौं, पुष १८

चीनले नेपाललाई कुनैपनि अन्तर्राष्ट्रिय समुदायको सहयोग हितमा हेरेर लिन आग्रह गरेको छ । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी)बाट सहयोग लिने विषयमा विवाद भईरहदा चीनले यस्तो भनाई बाहिर ल्याएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले आज आयोजित पत्रकार सम्मेलनमा सहयोगका विषयमा नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने प्रष्ट पार्नुभयो । नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताउनु भयो । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूतले भन्नुभयो, ‘कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

उहाले चीनले प्रस्ताव गरेको ‘टु प्लस वान’ को अवधारणा त्रिदेशीय सहकार्य नै भएको स्पष्ट पार्न खोज्नुभयो । ‘टु प्लस वान भनेको त्रिपक्षीय सहकार्य नै हो । यसमा चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन, सबै देश समान हुन्,’ उहाको भनाई छ । असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा चीनले त्रिदेशीय सहकार्यका लागि टु प्लस वानको अवधारणा अघि सारेको थियो । तर, नेपालमा टु प्लस वानले नेपालको हैसियत घट्ने चर्चा भएपछि प्रधानमन्त्री केपी ओलीले त्रिपक्षीय सहकार्य हुनुपर्ने स्पष्ट पार्नुभएको थियो ।

यसैगरी पत्रकार सम्मेलनमा उहाले हालै काठमाडौंबाट पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिनुभयो । ‘पर्यटक भिसामा नेपाल आएर गैरपर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो । पक्राउ परेकाहरु अहिले हिरासतमै छन्’, उहाले भन्नुभयो ।