जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार १७:२२

तीन दिनसम्म मौसम खराव रहने, पूर्वानुमान महाशाखाले गरायो सतर्कता अपनाउन अपिल


काठमाडौं, पुस १८ । मौसम परिवर्तनसँगै भएको वर्षा र बाक्लो हुस्सुका कारण हवाई उड्डयन क्षेत्रमा प्रभाव परेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आज दिनभर प्रभावित बनेको हो ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार अन्तरराष्ट्रिय उडानमा खासै समस्या नरहेको भएपनि आन्तरिक उडान भने प्रभावित बनेको हो । सामान्य तुवालो सहितको वर्षातले दृष्टिक्षेत्र (भिजिविलिटी) कम हुँदा आज बिहानैदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा केही समस्या भएको छ । यन्त्रको सहायताबाट विमानचालकले हेर्ने दृश्य अर्थात इन्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रविधिको सहायताले आन्तरिक र अन्तरराष्ट्रिय उडान भइरहेको छ ।

आन्तरिक उडान खासगरी पहाडी क्षेत्रको प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको तथा पहाडी क्षेत्रमा पनि जहाजले उचाइ लिन नसक्ने भएका कारण उडान प्रभावित भएको केसीले जानकारी दिनुभयो । पहाडी क्षेत्रबाट उडेका कतिपय जहाज काठमाडौं अवतरण गर्न नसक्दा तराइका विमानस्थलमा डाइभर्ट गरिएको थियो । अन्तर्राष्ट्रिय उडानहरु भने विदेशमा डाइभर्ट भएका छन् ।

विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० तथा अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बदली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको जनाएको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५ र अधिकतम १८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।