जनता टाइम्स

१९ पुष २०७६, शनिबार १०:४९

एक्सनपछि पुलको काममा देखियो सुधार : पाँचको लक्ष्य ४५ सम्पन्न


काठमाडौं, पुष १९

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पाँच सडक पुल निर्माण गर्ने योजना बनाइएकोमा ४५ वटाको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ ।

चालु आवमा तीन सय पुल निर्माण गर्ने योजना रहेकामा अघिल्लो वर्षबाटै निर्माण शुरु भएका पुलहरु सम्पन्न भएको हो । पुल निर्माणमा बहुवर्षीय ठेक्का भएकाले पहिलो चौमासिकमा नै सम्पन्न भएको सडक विभाग, पुल महाशाखाका प्रमुख ९उपमहानिर्देशक० दीपक भट्टराईले बताउनुभयो । चालु आवमा निर्माणाधीनमध्ये बाँकी पुल सम्पन्न गरी तीन सय सम्पन्न गर्ने लक्ष्य लिइएको हो । अहिले अघिल्ला वर्षको एक हजार ४६७ पुल निर्माणाधीन छन् भने त्यसमा २१२ पुलको योजना यस वर्ष थपिएको छ । उहाँले भन्नुभयो, “अघिल्ला वर्ष निर्माण शुरु भएका पुल सम्पन्न गर्ने योजना छ ।”

पुल निर्माण एकै वर्षमा सम्पन्न नहुने हुँदा दुई–तीन वर्षदेखि चार वर्षको अवधिमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । कतिपय योजना विभिन्न कारणले सम्पन्न नहुने हुँदा त्यसमा अवधि थप हुन्छ । प्रशासनिक कारणले वा बर्सातलगायत कारणले निर्माण व्यवसायीले चाहेर पनि काम गर्न नसक्दा अवधि थप हुने गरेकोे उपमहानिर्देशक भट्टराईले बताउनुभयो ।

निर्माणाधीन पुलमध्ये कतिपय रणनीतिक त कतिपय स्थानीय सडकमा निर्माण भइरहेको छ । विभागमा निर्माणाधीन पुलको चाप उच्च भएको भन्दै दुई वर्षसम्म नयाँ पुल निर्माणको योजना बनाएको थिएन । चालु आवमा भने स्थानीय सडकमा २१२ सडक पुलको योजना बनेको छ ।