जनता टाइम्स

२२ पुष २०७६, मंगलवार १४:४४

हुण्डी कारोवारीबिरुद्ध प्रहरीको एक्शन : ९२ लाख रकमसहित न्यूरोडबाट समातिए चार कारोवारी


काठमाडौं, पुस २२ । महानगरीय अपराध महाशाखाले व्हाट्सएप र वी च्याटमार्फत हुण्डीको अबैध कारोबार गर्ने चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंको न्यूरोडबाट पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यकामै गैरकानुनी रुपमा राजस्व छलेर हुण्डीको काम भैरहेको सूचनाको आधारमा महाशाखाको टोलीले सोमबार साँझ छापा मारी चार जनालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुवाट नगद, चेक रकम, विभिन्न बैंकका हस्ताक्षर राखिएका चेकबुक, व्हाट्सएप, वी च्या मार्फत अवैध हुण्डीको कारोबारसहितको विवरण बरामद गरेको छ । यसरी अबैध कारोवार गरी पक्राउ पर्नेमा काठमाडौं इन्द्रचोक इ–जोन पसलको सेल्फ स्टाफ गोपाल अग्रवाल, ईजोन पसलका कर्मचारी सिन्धुपाल्चोक मेलम्चीका भोला नेपाल रहेका छन ।

प्रहरीले उनीहरुको साथबाट ९ लाख ५० हजार नगद तथा विभिन्न बैंकबाट चेक रकम ६४ लाख ९९ हजार बरामद गरेको छ । यस्तै काठमाडौं ताहाचलका एनएस ट्रेडस भोटेवहालका संचालक कमल अग्रवालको साथबाट २ लाख नगद तथा १४ लाख बरामद भएको छ भने सुनसरी धरान–२ का नारायणकुमार अग्रवाललाई नियन्त्रणमा पनि अबैध हुण्डिको कारोवारमा पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी महाशाखाका एसएसपी सहकुल थापाले अवैध हुण्डी कारोबार गर्ने चार जनासँग १३ लाख ५२ हजार नगद, बैक रकम ७८ लाख ९९ हजार गरी ९२ लाख ५१ हजार बरामद गरेको बताउनुभयो । पक्राउ परेका चार जनामाथि थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व तथा अनुशन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।