जनता टाइम्स

२३ पुष २०७६, बुधबार १५:०१

मेडिकल कलेज सञ्चालकसँग चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले मागे २० करोड !


काठमाडौं, पुस २३

चिकित्सा शिक्षा आयोगका वरिष्ठ उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसँग २० करोड घूस मागेको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले आरोप लगाउनुभएको छ । उहाँले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाउनुभएको हो । प्रसाईँले झापाको धाइजन–४ स्थित मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ मागेको बताउनुभएको हो ।

आफूले उक्त रकम दिन नसक्ने भएपछि कलेजको सम्बन्धन नै रोकेको बताउनुभयो । उहाँले बी एण्ड सीलाई सम्बन्धन दिनुपर्ने, नभए कलेजको सम्पत्ति राज्यले नै किन्नुपर्ने प्रसाईंको माग छ । प्रसाईंका अनुसार गत मसिंर १५ मा आयोगमा निवेदन दिन जाँदा निवेदन लिन अस्वीकार गरि साँझ द्धारिका होटलमा बोलाएर घुस मागेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले घर जाने बाटो त्यतै हो भन्दै साँझपख बोलाउनुभयो ।

आधा घण्टादेखि ४५ मिनेटसम्म द्धारिकामा बसेर गफ भयो । उपाध्यक्ष ज्यूले आफूले नारायणकाजी श्रेष्ठ र गिरीराजमणि पोखरेललाई पैसा दिनुपर्ने भन्दै २० करोड माग्नुभयो । मैले २०/३० लाख वा १ करोडसम्म त ठिकै हो भनेको थिए । उहाँले त्यति पैसा दिन नसके बि एण्ड सि मेडिकल कलेजको १० प्रतिशत शेयर आफ्नो झापामा भएको सम्धिको नाममा पास गर्नुस् भन्नुभयो । त्यति भनेपछि म जुरुक्क उठेर हिँडे ।’

प्रसाईले थप्नुभयो, ‘मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन समेत भने । १०/२० लाख, एक करोडसम्म भनेको बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनेँ ।’ घुस मागेको प्रमाण छ भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले भन्नुभयो, ‘मलाई एसएमएस समेत खोल्न र पठाउन आउँदैन । म पढेको मान्छे पनि होइन । मैले रेकर्ड गरिनँ, तर म फेस टु फेस बसेर कुरा गर्न तयार छु । मेरो सामुन्ने घुस मागेको होइन भनेर कसरी भन्नसक्नुहुन्छ ?’

उहाँका अनुसार गिरीले २० करोड वा १० प्रतिशत शियर आफ्नो आफन्तको नाममा ट्रान्सफर गते मात्र सम्बन्धन दिन सक्ने बताएको दावी गर्नुभयो । प्रसाईले यसबीचमा आयोगले मापदण्ड नबनाई सिटिइभिटि अन्तर्गत सम्बन्धन बाडेको तर, आफूलाई नदिएको भन्दै दुख समेत व्यक्त गर्नुभयो । गिरिले घुस मागेपछि आफूले भोलिपल्टै नै पार्टीका अध्यक्ष प्रचण्डलाई भेटेर सो को जानकारी दिएको बताउनुभयो । चिकित्सा शिक्षा विधेयक आइसकेपछि राजधानी बाहिरका मेडिकल कलेजलाई सम्बन्धन दिने व्यवस्था रहेको छ ।