जनता टाइम्स

२४ पुष २०७६, बिहीबार १२:५९

मनको छाउगोठ भत्काउने अभियानमा सरकार, सरोकारवालासहित छाउँगोठमै पुग्दै मन्त्री गुरुङ


काठमाडौं, पुस २४ । कर्णाली र सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा ठुलो समस्याको रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि सरकारले बिशेष अभियान अघि बढाउने भएको छ । सरोकारवाला पक्षलाई नै सहमत गराएर छाउपडी प्रथा अन्त्यका लागि महिला बालबालिकातथा जेष्ठ नागरिक मन्त्रालयले यो अभियान अघि बढाउन लागेको हो ।

सो मन्त्रालयको नेतृत्व गर्नुभएका मन्त्री पार्वत गुरुङले यसअघि नै छाउपडी प्रथा अन्त्यका लागि सरकारले बिशेष अभियान थाल्ने बताउनु भएको थियो । सोही अनुसार आगामी माघको पहिलो साता कर्णाली र सुदुरपश्चिम प्रदेशमा छाउपडी प्रथाबिरुद्ध स्थानीय सरकारका प्रमुख, उपप्रमुखसहित प्रदेश सरकार र प्रदेश सांसदहरुको सहभागितामा सचेतनामुलक कार्यक्रम आयोजना लागिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि सवै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सांसद आउने मौका पारी मन्त्रालयले यस्तो कार्यक्रम राख्न लागेको मन्त्री गुरुङले बताउनु भयो ।

‘कानूनी कार्वाहीको पाटो छँदैछ, यो कामको नेतृत्व गृह मन्त्रालयले गरेको छ, गृहको निर्देशनमा धमाधम छाउगोठ भत्काउने अभियान चलेको छ, स्थानीय महिलाहरु आफै पनि यो अभियानमा सहभागी हुनुभएको छ,’ अभियानबारे जनताटाइम्सलाई जानकारी दिँदै मन्त्री गुरुङले भन्नुभयो, ‘भौतिक रुपमा छाउगोठ भत्काएर मात्रै पुग्दैन, अव मनभित्र गढेर रहेको छाउगोठ भत्काउन जरुरी छ, त्यसैका लागि मन्त्रालयले सरोकारवाला सवैलाई साथमा लिएर अभियान अघि बढाउने निश्कर्षमा हामी पुगेका छौं ।’

मन्त्री गुरुङले यस अभियानलाई अघि बढाउन आज मात्रै संघीय संसदको महिला समितिका सभापति निरु पाल, महिला नेतृ बिन्दा पाण्डेसहित सुर्खेत, अछाम जिल्लाका संघीय सांसद र सरोकारवालासँग छलफल गर्नुभएको छ । छलफलका क्रममा महिला नेतृहरुले छाउगोठ भत्काएर मात्रै यो प्रथा अन्त्य नहुने भन्दै स्थलगत रुपमै सचेतना अभियानमार्फत जगाउनु पर्ने सुझाव दिनुभयो । ‘सवैको सुझाव मनभित्रको छाउगोठ भत्काउनु पर्छ भन्ने रहेको छ, मन्त्रालयले पनि यहीअनुसार आफ्नो योजना बनाएको छ,’ मन्त्री गुरुङले भन्नुभयो ।

भौतिक रुपमा छाउगोठ भत्काएर मात्रै पुग्दैन, अव मनभित्र गढेर रहेको छाउगोठ भत्काउन जरुरी छ, त्यसैका लागि मन्त्रालयले सरोकारवाला सवैलाई साथमा लिएर अभियान अघि बढाउने निश्कर्षमा हामी पुगेका छौं

महिला बालबालिकातथा जेष्ठ नागरिक मन्त्रालयले छाउप्रथाबिरुद्ध अभियान अघि बढाउन पहिलो चरणमा कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीसहित अछाम र डोटीमा यस्तो कार्यक्रम गर्ने निचोड निकालेको छ । अछाम र डोटीमा छाउगोठमै मन्त्रीसहित सरोकारवाला सवै निकाय पुग्ने गरी गृहकार्य अघि बढाइएको छ ।