जनता टाइम्स

२४ पुष २०७६, बिहीबार १६:३१

राष्ट्रियसभाबाट दुई महत्वपुर्ण बिद्येयक पारित : प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले दिनुभयो जवाफ


काठमाडौं, पुस २४ । राष्ट्रियसभाबाट दुई विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित भएको हो ।

विषयगत समितिमा भएको छलफल र परिमार्जनलाई स्वीकार्दै विधेयक पारित गरिएको छ । बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ । यसअघि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सदनमा उठेका सवाललाई संशोधनका माध्यमबाट सम्बोधन गर्न सकिने बताउनुभयो ।

हालका बौद्धिक संस्थाहरु भिन्न र छुट्टै प्रकृतिका रहेको र संसदीय प्रक्रियाबाट नबनेका हुनाले प्रतिष्ठान विधेयक ल्याइएको जानकारी पनि अर्थमन्त्री खतिवडाले दिनुभयो । कानूनबाट स्थापित हुने प्रतिष्ठान दिगो र परिपूरक भूमिकामा भएकाले यसको सान्दर्भिकता बढ्ने उहाँको भनाई थियो । अर्थमन्त्री खतिवडाले प्रतिष्ठान विधेयक मुलुकको सामरिक सम्बन्ध, परराष्ट्र नीति र विकाससम्बन्धी कामलाई प्रभावकारी बनाउन पनि उपयोगी हुने विश्वास पनि व्यक्त गर्नुभयो । यसैबीच आजकै बैठकमा ‘रेल्वे विधेयक, २०७६’ पेश भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका तर्फबाट अर्थमन्त्री खतिवडाले उक्त विधेयक पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्नेछ ।