जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार ०९:५१

जथाभावी सडक खन्ने काम रोकिदै, दुई निकायबीच बन्यो यस्तो सहमति


काठमाडौं, पुष २५

नेपाल टेलिकम र सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । यस सम्बन्धि समझदारी पत्रमा एक कार्यक्रमका बीच सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

सडक विभागले द्रूत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाइरहेको र नेपाल टेलिकमले सर्वसाधारण जनताको लागि अत्यावश्यक सञ्चार सेवा मुलुकको अति विकट स्थानसम्म पुर्‍याइरहको अवस्थामा नेपाल टेलिकम र सडक विभागबीच समन्वय र सहकार्य आवश्यक देखिएको हो । नियमित नयाँ सडक निर्माण, सडक विस्तार, मर्मत सम्भार र सडक चौडा गर्ने तथा नेपाल टेलिकमका दूरसञ्चार पूर्वाधार निर्माण तथा सुधारका क्रममा दुवै निकायबाट निर्मित पूर्वाधारका संरचनाहरुमा हानी–नोक्सानी हुनुका साथै निर्माण कार्यमा दोहोरो लगानी हुने र सेवाको गुणस्तरमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको छ ।

समझदारीअनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक ‘डक्ट’हरू बिछ्याइनेछ । यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निर्क्यौल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी गर्नेछ । सडक निर्माण तथा स्तरोन्‍नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरू बिछ्याउन सो समझदारी पत्र र विद्यमान कानुनको अधिनमा रही सडक विभागको सम्बन्धित सडक डिभिजन–योजना कार्यालय र नेपाल टेलिकमको सम्बन्धित कार्यालयबीच विस्तृत सम्झौता गरी कार्यान्वयन गरिने छ ।