जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार ११:३९

इरानसँग गल्यो अमेरिका ! विनाशर्त वार्तामा बस्न तयार रहेको घोषणा


काठमाडौं, पुष २५

केही दिनयता दुई देशबीच तनाव चुलिएको भए पनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको बताएको छ । तर संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ ।

इरानले सो हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानले पनि सो आक्रमण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसङ्घलाई बताएको छ । सुलेमानी इरानमा धेरै शक्तिशाली मानिन्थे । उनलाई इरानको नीतिनिर्माताका रूपमा हेरिन्थ्यो ।

उनको अन्तिम संस्कारमा दशौँ लाख इरानीहरू सहभागी भएका थिए । इरानका सर्वोच्च नेता आयतूला अली खामनेईले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको गालामा चड्कनको रूपमा व्याख्या गर्दै मध्यपूर्व क्षेत्रमा अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्ने बताएका छन् । सुलेमानीसँग इराकी विद्रोही समूहका नेता पनि मारिएको र इरानसमर्थित ती समूहले पनि बदला लिने बताएका छन् ।

तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सीबीएस न्यूजसँग कुरा गर्दै इरानले ती समूहलाई अमेरिकामाथि आक्रमण नगर्न भनेको बताएका छन् । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको इरानसित युद्ध सुरु गर्ने अधिकार सीमित पारिदिने एउटा प्रतीकात्मक प्रस्ताव स्वीकृत गरेको छ।

डेमक्र्याटिक पार्टीको बहुमत भएको संसद्‌मा उक्त प्रस्ताव २२४-१९४ मतले पारित भयो। रिपब्लिकन पार्टीको बहुमत भएको माथिल्लो सदनमा मतदान हुन बाँकी नै छ। उक्त प्रस्तावका अनुसार अमेरिकाविरुद्ध आक्रमण भएको खण्डमा बाहेक इरानसित हुने सबै द्वन्द्वबारे निर्णय गर्दा कङ्ग्रेसको अनुमोदन आवश्यक हुनेछ।

अमेरिकी पत्रमा के छ ?

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानक कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्य’ले वार्ता गर्न तयार रहेको बताएकी छन् ।

सुलेमानीको हत्या संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको छ । सो धारामा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ । उक्त पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने लेखिएको छ ।

इरानले पनि धारा १५ कै आधारमा अमेरिकी सेनामाथि गरिएको आक्रमणलाई उचित ठहर्‍याएको छ । इरानका दूत माजिद तख्तले तेहरानले युद्ध नचाहेको बताएका छन् ।