जनता टाइम्स

३ माघ २०७६, शुक्रबार ०७:३६

गएरातिदेखि काठमाडौंमा झरी : आज देशभर हल्कादेखि मध्यम वर्षा हुने, यस्तो छ तीन दिनको मौसम


काठमाडौं, माघ ३ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव जारी रहेको छ। सोही प्रभावका कारण मौसम परिवर्तन भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) नेपालको पश्चिमी, मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्य देखि पूर्णतया बदली रहेको छ। गएराति देखि नै काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा झरी परेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ भने पश्चिम तथा मध्यको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा भारी हिमपात हुनेछ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्का बर्षा हुने छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ।

शनिबारको मौसम

शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ ।

आइतबारको मौसम

आइतबार देशको पहाडी भूभागमा आंशिक बदली भइ पहाडी भूभागका केही स्थानमा हल्का बर्षा हुन सक्ने संभावना छ।