जनता टाइम्स

६ माघ २०७६, सोमबार ०९:५६

बकिङ्घम दरबार छाडेपछि राजकुमार ह्यारीको त्यो भावुक सम्बोधन


काठमाडौं, माघ ६

ब्रिटेनका राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दुःख व्यक्त गर्दै आफूसँग त्यसबाहेक ‘अरू कुनै विकल्प नभएको’ बताउनु भएको छ ।

उहा र उहाकी श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिनुभएको हो । उहाले भन्नुभयो, ‘म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन । महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि यो निर्णय गरिएको हो ।’

उहाले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताउनु भयो । ह्यारीले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त पनि व्यक्त गर्नुभयो । उहाले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पार्नुभयो ।

यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गर्नुभएको थियो । दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उहाले आफ्ना धारणाहरू राख्नुभएको थियो ।

त्यसको सुरुवात् गर्दै उहाले भन्नुभयो, ‘गत केही साताहरूमा तपाईँहरूले के सुन्नुभयो वा पढ्नुभयो होला भन्ने म कल्पना मात्र गर्न सक्छु, त्यसैले म चाहन्छु तपाईँहरू मबाट मैले जति साझा गर्न सक्छु त्यो जति सत्य कुरा सुन्नुहोस् भन्ने चाहन्छु, एउटा राजकुमारका रूपमा होइन ह्यारीका रूपमा ’ उहाले आफ्नी हजुरआमा महारानी एलिजाबेथप्रति सधै उच्चतम सम्मान रहेको पनि बताउनु भयो ।

बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरी सकेको छ । दरबारका अनुसार अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन् ।

ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ । दरबारद्वारा जारी वक्तव्यका अनुसार ‘ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन् ।’आगामी वसन्त ऋतुबाट यो निर्णय कार्यान्वयनमा आउने दरबारले जनाइसकेको छ।