जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १३:२७

भक्तपुरमा पर्यटक आगमनमा वृद्धि


भक्तपुर, बैशाख ३१

भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ। पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ।

विसं २०७४ मा भक्तपुरमा सार्क राष्ट्र तथा चीनका ९३ हजार ५३० र अन्य राष्ट्रका एक लाख २५ हजार ४९९ पर्यटक गरी दुई लाख १९ हजार २९ पर्यटकले आगमन भएको छ । २०७५ सालमा भने सार्क तथा चीनका एक लाख १५ हजार ९०६ र अन्य राष्ट्रका एक लाख ३७ हजार ९५७ गरी दुई लाख ५३ हजार ८६३ पर्यटकले आगमन भएको छ।

नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रति पर्यटक रु ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रति पर्यटक रु एक हजार ५०० पर्यटन शुल्क सङ्कलन गर्दै आएको छ । पर्यटन शुल्कबापत नगरपालिकाले २०७५ सालमा सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु पाँच करोड ७९ लाख ५३ हजार र अन्य राष्ट्रका पर्यटकबाट रु २० करोड ६९ लाख ३५ हजार ५०० गरी कूल रु २६ करोड ४८ लाख ८८ हजार ५०० राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले २०७४ सालमा भने सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु चार करोड ६७ लाख ६५ हजार र अन्य राष्ट्रका पर्यटकबाट रु १८ करोड ८२ लाख ४८ हजार ५०० गरी कूल रु २३ करोड ५० लाख १३ हजार ५०० राजश्व सङ्कलन गरेको थियो । भक्तपुर आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनबाट पर्यटक आएका छन् भने त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशका पर्यटक आएको केन्द्रले जानकारी दिएको छ ।

नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन नगरका १४ स्थानमा काउन्टर स्थापना गरेको छ । भक्तपुर प्रवेश गर्ने पर्यटकसँग उठाउने सेवा शुल्क नै भक्तपुर नगरपालिकाको प्रमुख आयस्रोत हो ।