जनता टाइम्स

८ माघ २०७६, बुधबार १३:३७

मृत्युलाई जितेर साउदीबाट स्वदेश फर्किए उमेश यादव


जनकपुर, माघ ८ । धनुषाका उमेश यादव साउदी अरवमा मृत्युलाई जितेर नेपाल फर्किनुभएको छ । पाकिस्तानी सहकर्मीको हत्या गरेको आरोपमा ३९ बर्षीय यादवलाई साउदी अरेबियामा मृत्युदण्डको सजाय सुनाइएको थियो । धनुषाको कमला नगरपालिका ३ का स्थायी बासिन्दा उमेश २००६ मा वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरव पुग्नुभएको थियो ।

पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा यादवलाई मृत्युदण्डको सजाय सुनाएको थियो । सो अदालतले यादवलाई घाँटी काटेर २४ घण्टा झुण्ड्याउने आदेश दिएको थियो । बैदेशिक रोगजागरिमा गएको केही समयपछि विवादकै क्रममा पाकिस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । जुवेल जेनरल कोर्टको आदेशमा उमेशलाई साउदीकै जुवेल जेलमा राखिएको थियो ।

यादवको जीवन रक्षाका लागि दुई वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले आज बिहानै विमानस्थलमा स्वागत गर्नुभयो । उमेशले मृत्यु दण्डको सजाय पाउने समाचार दुईवर्ष अघि सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उहाँको जीवनरक्षाको निम्ति पहल अघि बढाउनु भएको थियो । अभियन्ता रायले दुईवर्षदेखि ‘ब्लडमनी’ को लागि चन्दा संकलन सुरु गरेका थिए । उहाँले परराष्ट्र मन्त्रालय, दुताबासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको निम्ति गुहार गरेका थिए ।

मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ब्लडमनीलगायत अदालती प्रक्रियामा अगाडि बढनुभएको थियो । उहाँले चन्दा संकलन गरी पाकिस्तानी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ‘ब्लडमनी’ दिएपछि उमेश जेलबाट रिहा हुनुभएको थियो । रिहाइलगत्तै यादव स्वदेश फर्कनुभएको हो ।