१२ माघ २०७६, आईतबार ००:००

अघि बढ्यो महाराजगन्ज–सातदोबाटो मेट्रो रेलको काम


काठमाडौं, माघ १२। सातदोबाटोदेखि महाराजगन्जसम्मका लागि प्रस्तावित मेट्रो रेल निर्माणअन्तर्गत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अघि बढेको छ । रेल विभागले डिपीआर तयारका लागि एक वर्षको समयावधि तोकेर चिनियाँ र नेपाली कम्पनीको ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको छ । केही दिनअघि विभाग र चाइना रेलवे सियुआन–सीईएमएटी कन्सल्ट्यान्ट कम्पनीबीच द्विपक्षीय सम्झौता (एमओयू) भइसकेको छ ।

नेपालमै पहिलोपटक निर्माण गर्न लागिएको मेट्रो रेलअन्तर्गत करिब १२ किलोमिटरको यो खण्डको सम्भाव्यता अध्ययन (फिजिबिलिटी) प्रतिवेदन भने तयार भइसकेको छ । यो मेट्रो रेल सातदोबाटोबाट रत्नपार्क भएर नारायणगोपाल चोक पुग्नेछ । रेल विभागले महराजगन्ज–बूढानीलकण्ठ र सातदाबाटो–खोकनासम्मको मेट्रो रेल बनाउने योजना पनि अघि बढाइरहेको छ । सो खण्डको फिजिबिलिटीको काम भने हुन बाँकी रहेको छ ।

चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहलाई लक्षित गरेर मेट्रो रेल निर्माण गर्ने योजनामा विभाग रहेको छ । सो खण्डमा रेल सञ्चालन भएमा उपत्यकाको सवारी व्यवस्थापन सहज बन्ने भन्दै डेढ वर्षभित्र डीपीआर तयार पारेर निर्माण प्रक्रिया नै अघि बढाउने योजनामा विभाग रहेको छ । रेल विभागले दुई खण्डको पनि फिजिविलिटीका लागि परामर्शदाता कम्पनी छनोटको प्रक्रिया सुरु गर्न लागेको जनाएको छ ।

खोकनाबाट सातदोबाटो–रत्नपार्क–महाराजगन्ज हुँदै बूढानीलकण्ठ पुग्ने मेट्रो रेल करिब २२ किलोमिटर दूरीको हुनेछ । लगानी बोर्डले धुलिखेल–नागढुंगाका लागि मेट्रो रेल निर्माण गर्न अध्ययनको काम अघि बढाएको छ । सो खण्ड करिब ४५ किलोमिटरको हुनेछ । सरकारले काठमाडौंदेखि उत्तरी छिमेकी राष्ट्र चीन र दक्षिणी छिमेकी राष्ट्र भारत जोड्ने रेलमार्ग दुई वर्षभित्र निर्माण सुरु गर्ने तयारी पनि गरेको छ ।

Quick Links