जनता टाइम्स

१२ माघ २०७६, आईतवार १८:०७

कोरोना भाइरसका लक्षण र यसबाट जोगिने उपाय


चीनबाट फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यो भाइरस देखिएको जानकारी गराएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

यस्तो हुन्छ लक्षण

पशुबाट पशुमा सर्ने यो भाइरस हाल मानिसबाट मानिसमा समेत सरेको पाइएको छ । यो भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । ज्वरो आउने, श्वासप्रश्वासमा अत्यधिक समस्या हुने, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ । कोरोना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई साताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिए तुरुन्त चिकित्सककहाँ जानुपर्छ । रुघाखोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ । हात मिलाउन छाडेर नमस्कार गर्नु उपयुक्त हुन्छ ।

जोगिने उपाय

नियमित रूपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपक्षीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने ।

उपचार

कोरोना भाइरसले गर्दा हुने रोगका लागि कुनै खास उपचार छैन । तर, यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार गर्न सकिन्छ ।