जनता टाइम्स

१२ माघ २०७६, आईतवार १९:४४

कोरोना भाइरस नियन्त्रणमा प्रधानमन्त्री ओलीको पहलकदमी : तीन मन्त्रीलाई दिनुभयो यस्तो निर्देशन


काठमाडौं, माघ १२ । चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियन्त्रणको लागि पहलकदमी लिनुभएको छ । शुक्रवार चीनबाट नेपाल आएका एक युवामा सो भाइरस पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलासा गरेपछि प्रधानमन्त्री ओलीले आजबाटै नियन्त्रणका लागि पहलकदमी लिनुभएको हो ।

प्रधानमन्त्री ओलीले आज तीन मन्त्रीलाई आफ्नो निवास बालुवाटार बोलाएर नियन्त्रणका लागि सम्पूर्ण तयारी गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई बालुवाटारमै बोलाएर निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरुको उपचारको अवस्थाबारे जानकारीसमेत लिनुभएको छ ।

चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । यस्तै, चीनबाटै नेपाल फर्किएकी एक महिला र एक पुरुषमा पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । संक्रमितको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषगरी चीनबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न र शंकास्पद बिरामीलाई विमानस्थलबाटै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । प्रधानमन्त्री ओलीले यस रोग नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न र कुनै हेलचेक्रयाँई नगर्नसमेत निर्देशन दिनुभएको छ ।