जनता टाइम्स

१३ माघ २०७६, सोमबार ०८:३७

एनआरएनएको चासो र सरोकारप्रति प्रधानमन्त्री ओली सकारात्मक, अध्यक्ष पन्तलाई दिनुभयो यस्तो जवाफ


काठमाडौं, माघ १३ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) का अध्यक्ष कुमारपन्तले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी संघको कामबारे जानकारी गराउनु भएको छ । पन्तले आइतवार प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।

करिब एक घण्टाको भेटमा गैरआवासीय नेपाली समुदायको चासो र सरोकारका विषयमा विस्तारमा छलफल भएको पन्तले जनताटाइम्सलाई बताउनु भयो । सो अवसरमा पन्तले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन संसदबाट पारित गर्न भइरहेको ढिलाइप्रति उहाँको ध्यानाकर्षण गराउनु भएको छ । यसैगरी दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञानसीप सम्मेलन तथा गैरआवासीय नेपालीको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि छलफल भएको छ ।

‘हाम्रा चासो र सरोकारप्रति उहाँले आफू सकारात्मक रहेको बताउनुभएको छ । वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति उहाँको विशेष चासो थियो र त्यसमा नीतिगत सहजताका निम्ति सघाउने वचन पनि दिनुभएको छ,’ भेटपछि पन्तले भन्नुभयो । अध्यक्ष पन्तले प्रधानमन्त्री ओलीले दिनुभएको समय र व्यक्त गर्नुभएको चासो एवं सदाशयप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।