काठमाडौं, माघ १३ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । सभामुखको पद सम्हालेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सापकोटाले आफू दलको सदस्यबाट अलग भएको घोषणा गर्नुभएको हो ।
उहाँले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गर्नुभयो । ‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु,’ सभामुख सापकोटाले आज बिज्ञप्ती जारी गर्दै भन्नुभएको छ, ‘नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु ।’
नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । सापकाटाले आजै राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गर्नुभएको हो । पदबहालीलगत्तै सभामुख सापकोटाले नेकपाको सदस्यबाट समेत अलग हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्