जनता टाइम्स

१३ माघ २०७६, सोमबार २०:१३

पूरा भयो प्रधानमन्त्री ओलीको अर्काे घोषणा, अत्याधुनिक पूर्वाधारसहितको अध्यागमन सेवा सुभारम्भ


काठमाडौं, माघ १३ । नेपालको अध्यागमन प्रणालीमा आमुल परिवर्तन (कम्प्लिट ट्रान्सफरमेशन) गर्ने गरी विकास गरिएको ‘नेपाली पोर्ट’ सफ्टवेयर एवं अत्याधुनिक पूर्वाधारसहितको अध्यागमन सेवा शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘नेपाली पोर्ट’ नामक अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको सुभारम्भ गर्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले ‘नेपाली पोर्ट’ को उद्घाटन गर्नुभयो । अध्यागमनको सूचनाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरुको टोलीले एक वर्ष लगाएर नेपाली पोर्ट नामक प्रणालीको विकास गरेका हुन् । नेपाली पोर्टको विकासपछि नेपाली भिसाको दुरुपयोग तथा राजस्व चुहावटको सम्भावना अन्त्य हुने विश्वास अध्यागमन विभागले लिएको छ । नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीहरुको बायो मेट्रिक इन्फर्मेसन, फिङ्गरप्रिन्ट र फोटो समेत प्रणालीमा रहने छ ।

यही प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, बैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षामन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोल सम्बद्ध सुचानाहरु हेर्न मिल्ने गरी व्यवस्थासमेत मिलाइएको छ । भिसा आवेदन, विदेशी नागरिकको नेपाल बसाईको अनुगमन र भिसा दस्तुर तिर्नसमेत सहज हुने विश्वास लिइएको छ । विमानस्थलमा शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरण सहितको फरेन्सिक डिटेक्सन ल्याबको समेत स्थापना गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा विदेशीहरुको आगमन उपस्थिति र प्रस्थानलाई सुरक्षित, मर्यादित र सूचनामुलक बनाउन अध्यागमनको सुदृढीकरण गर्ने नेपाल सरकारको योजनाको महत्वपूर्ण चरण पूरा भएको भन्दै खुसी ब्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एअरपोर्टको रुपमा निर्माण गरी चौविसै घन्टा सन्चालनमा ल्याउनेतर्फ समेत यसले मद्दत पुग्ने बताउनु भयो ।

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

माननीय मन्त्रीज्यूहरु
उपस्थित विशिष्ट व्यक्तित्वहरु
पत्रकार साथीहरु
राष्ट्रसेवक कर्मचारीहरु,

हामीले नेपालको मुख्य प्रवेश द्धारका रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा विदेशीहरुको नेपाल आगमन, बसाई र प्रस्थानलाई सरल, सहज, सुरक्षित र सूचना प्रणालीमा आधारित बनाउन तयार पारिएको नेपाली पोर्ट प्रणालीको आज शुभारभ्भ गरेका छौं । अध्यागमन कार्यालय यस अन्तराष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेशका अन्य नाकाहरुमा आगमन र प्रस्थान बिन्दुमा वायोमेट्रिक सुविधासहितका उपकरणहरु जडान गरेका छौं । नेपालमा विदेशीहरुको आगमन उपस्थिति र प्रस्थानलाई सुरक्षित, मर्यादित र सूचनामुलक बनाउन अध्यागमनको सुदृढीकरण गर्ने नेपाल सरकारको योजनाको महत्वपूर्ण चरण पूरा भएकोमा मलाई खुसी लागेको छ ।

नेपाल सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिको लागी आर्थिक, सामाजिक र प्राविधिक विकासका पक्षहरुमा स्पष्ट उदेश्य, लक्ष्य, रणनीति र कार्यनीति सहित अगाडि बढीरहेको सबैमा अवगत नै छ । सरकारले अन्तराष्ट्रिय जगतमा नेपालको छवि उँचो राख्दै राष्ट्रिय प्राथमिकताका क्षेत्रमा पूर्वाधारहरुको विकास र जनशक्ति विकासमा लगानी अभिवृद्धि गरिरहेको छ । नेपाललाई चीन र भारत जस्ता विकसित र उदयमान अर्थतन्त्रहरुसँग आर्थिक कूटनीतिको माध्यमबाट जोडन हाम्रा पुर्वाधारहरु विश्व स्तरका र प्रतिस्पर्धी बनाउनेतर्फ सरकारले जोड दिएको छ । यसै सिलसिलामा, अध्यागमन सुदृढीकरणमा गरिएको भौतिक पूर्वाधारको विकास र पुरानो सफ्टवेयरलाई विस्थापन गरी आफ्नै क्षमता, सीप र दक्षता परिचालन गरी, पूर्ण सुरक्षा र स्वामित्व नेपाल सरकारको मात्र हुने गरी विकास भएको सफ्टवेयरको सञ्चालनबाट डिजिटल नेपाल निर्माण गर्ने सरकारको योजना कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने छ ।

सुरक्षित, प्रविधिमैत्री र भरपर्दो नेपाली पोर्ट प्रणालीलाई संचालनमा ल्याउनु गृह प्रशासनको महत्वपूर्ण सफलता भएको मैले पाएको छु । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एअरपोर्टको रुपमा निर्माण गरी चौविसै घन्टा सन्चालनमा ल्याउनेतर्फ समेत यसले मद्दत पुग्ने छ ।डिजिटल नेपालको निर्माणमा हाम्रा सेवाहरुको वितरण सेवाग्राही मैत्री, विश्वसनीय, सुरक्षित र प्रतिस्पर्धी हुन जरुरी छ । ईगभर्नेन्सको ब्यापक प्रयोग र भरपर्दो तथ्यांक प्रणालीको विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ । यस अवसरमा म सबै तहका सरकारमा यस्ता सुधारका आयोजना संचालन गरी कार्यान्वयनमा ल्याउन अनुरोध गर्दछु ।

नेपाल सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थललाई निर्माण गरी एअर कनेक्टिभिटीलाई मुलुकको दीर्घकालीन हितमा सुनिश्चित गराउन प्रतिवद्ध रहेको छ । त्यसैगरी, मित्रराष्ट्र चीन र भारतको अर्थतन्त्रको ल्याण्ड लिंक्ड अर्थतन्त्रको रुपमा रहि वि.सं. २१०० सम्ममा उच्च मध्यम आय भएको स्वाधिन अर्थतन्त्रको रुपमा विकास गर्न सडक संजालका साथै जलमार्गको विकासमा नेपाल सरकारले स्रोत परिचालनमा गुणात्मक बढोत्तरी गर्नुका साथै परिणाममुखी नतिजाहरु प्राप्त गर्न जोड दिएको छ । अहिलेको विश्वब्यापीकरणको युगमा पूँजी, प्रविधि, मानिसहरुको गतिशीलताजस्ता विषयहरु हाम्रो प्राथमिकता एवं चासोका विषय हुन । तर, मानव बेचविखन तथा ओसारपसार, लागु औषध ओसारपसार र बेचविखन, सम्पत्ति शुद्धिकरण र सुरक्षा प्रणालीमा प्रतिकूलता ल्याउने गतिविधिहरु मानव जातिको लागि बाधक बनिरहेको सन्दर्भमा त्यस्ता गतिविधिहरु पूर्णरुपमा नियन्त्रण गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ ।

आजको कार्यक्रम र प्राप्त नतिजा नै त्यसको एउटा भरपर्दो प्रमाण र जवाफ हो भन्ने मलाई लाग्दछ । मैले वुटिक एयरपोर्टका सन्दर्भमा भनेको थिएँ यसमा ‘आधुनिकता टल्किने र मौलिकता झल्किने’ हुनपर्छ । आधुनिकता टल्किने गरी अध्यागमनले मिसन पूरा गरेको छ । मौलिकता झल्किनेतर्फ अझै धेरै गर्न बाँकी छ । त्यसलाई पनि पूरा गर्नेतर्फ लाग्न समेत म सम्वद्ध सवैलाई आव्हान गर्दछु

अध्यागमन सुरधारको कार्ययोजना बमोजिम अध्यागमनमा स्थापना गरिएको डाटा सेन्टर, भरपर्दो सूचना प्रणाली, अत्याधुनिक पूर्वाधारहरु, नक्कली कागजात पहिचान गर्ने ल्याबको स्थापना, अन्तरराष्ट्रिय स्तरको प्रविधिको प्रयोग समेतको बुहआयामिक सुधारबाट अध्यागमनलाई प्रतिस्पर्धी र त्रुटिरहित बनाउनेतर्फ ठुलो आधार तयार भएको छ । विमानस्थलको समग्र सुरक्षा प्रणालीमा अध्यागमनको सुधारले ठुलो टेवा पुर्याउनेछ । सीमास्थित सबै अध्यागमन कार्यालयहरुमा यही प्रविधि एकसाथ सुरु हुनु अझ ठुलो गर्वको विषय हो । अध्यागमनमा अब मानवीय क्षमता विकास र व्यवहारमा रुपान्तरणको खाँचो छ, त्यसतर्फ सम्बद्ध निकायको ध्यानकेन्द्रित गर्न निर्देशन गर्दछु । अध्यागमनमा गरिएका सुधारबाट आइकाओको सुरक्षा मापदण्डको लेखाजोखाका क्रममा औल्याइएका विषय समेत संवोधन भएका छन् । अध्यागमनको सुधार प्रयास नेपालको समग्र सार्वजनिक सेवा प्रवाहमा सुधार, सुशासन, उत्तरदायित्व, जवाफदेहिताको सवालमा एक उल्लेखनीय उदाहरण हुन सक्छ । यसैबाट सवै विभाग, कार्यालय, मन्त्रालय, सरकारी निकाय, अर्धसरकारी र स्वायत्त संस्थाहरु सवैमा सुधारको शुरुवात गर्नेतर्फ सिकाइको मोडल अध्यागमन हुन सक्छ ।

हाम्रो समग्र प्रशासनमा नतिजाको खोजी नेपाल सरकारले गरेको छ, जसबाट जनता र राष्ट्रप्रतिको वृहत्तर जवाफदेहिता हेरिन्छ । नतिजा प्राप्तिमा हाम्रा प्रशासकीय अवयवहरु चुकेका छन । नेपाल सरकारले नतिजा प्राप्तिमा निक्कै ठुलो मेहनत गरेको छ । नतिजा प्राप्ति के कसरी संभव छ, आयोजना सम्पन्न गर्ने मोडल के हो, पूजिगत खर्च गर्ने क्षमताको विषय, कामको गुणस्तर, समन्वय जस्ता अनेकौ प्रश्नको उत्तर अध्यागमन सुधार र गृह प्रशासनभित्र खोज्न पनि म प्रशासनिक नेतृत्वलाई निर्देशित गर्दछु । आजको कार्यक्रम र प्राप्त नतिजा नै त्यसको एउटा भरपर्दो प्रमाण र जवाफ हो भन्ने मलाई लाग्दछ । मैले वुटिक एयरपोर्टका सन्दर्भमा भनेको थिएँ यसमा ‘आधुनिकता टल्किने र मौलिकता झल्किने’ हुनपर्छ । आधुनिकता टल्किने गरी अध्यागमनले मिसन पूरा गरेको छ । मौलिकता झल्किनेतर्फ अझै धेरै गर्न बाँकी छ । त्यसलाई पनि पूरा गर्नेतर्फ लाग्न समेत म सम्वद्ध सवैलाई आव्हान गर्दछु ।