जनता टाइम्स

१४ माघ २०७६, मंगलवार ०८:१६

घरायसी उपभोक्तालाई ओली सरकारको उपहार : अव जति बढी विद्युत् उपभोग, उति कम महसुल


काठमाडौं, माघ १४ । नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोक्ताका लागि विद्युत महसुल दर परिवर्तन गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले विद्युत महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो ।

घरायसी उपभोक्ताले जति बढी विद्युत् उपभोग गर्‍यो, उति कम महसुल लाग्ने गरी दर निर्धारण गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । प्राधिकरणले यो दरलाई विद्युत् नियमन आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ । प्राधिकरणको हालको विद्युत् महसुल दरअनुसार घरायसी उपभोक्ताले जति बढी विद्युत् महसुल उपभोग गर्‍यो, उति महँगो दर लागू हुँदै जाने व्यवस्था छ । यो व्यवस्था परिवर्तन गरेपछि घरायसी उपभोक्ताले बढी विद्युत् खपत गर्ने प्राधिकरणको विश्वास छ ।

घरायसी प्रयोजनका लागि विद्युत् माग बढाउन प्राधिकरणले यस्तो निर्णय गरेको हो । बढी विद्युत् खपत गर्ने ग्राहकलाई सस्तोमा विद्युत् उपभोग गर्न दिँदा खाना पकाउने ग्यास विस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । आगामी वर्षदेखि वर्षायाममा खपतभन्दा बढी विद्युत् उत्पादन हुने अनुमानसहित प्राधिकरणले विद्युत् खपत बढाउने उपायको खोजी गरिरहेको छ । अघिल्लो महिना प्राधिकरणले उद्योगलाई महँगो शुल्क लिएर दिइँदै आएको डेडिकेटेड विद्युत्को महसुल हटाएको थियो ।

अब डेडिकेटेड लाइनबाट विद्युत् लिने उद्योगले पनि उद्योगका लागि लागू हुने सामान्य विद्युत् महसुल दरभन्दा करिब १५ प्रतिशत मात्रै बढी शुल्क तिर्नुपर्नेछ । यसअघि यस्तो शुल्क ६५ प्रतिशत महँगो थियो । नयाँ दर कायम गर्न ‘ब्लक’ समेत परिर्वत गरिएको प्राधिकरणले जनाएको छ । अब उपभोक्ताले जति बढी विद्युत् खपत गर्छन्, उति नै सस्तो दर तिर्नुपर्नेछ । प्राधिकरणले घरायसी उपभोक्ताका लागि ० देखि १०, ११ देखि २०, २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १ सय, १ सय १ देखि १ सय ५० र १ सय ५० देखि २ सय र २ सयदेखि ४ सय युनिटसम्म विद्युत् खपत गर्नेलाई वर्गीकरण गरी नयाँ शुल्क निर्धारणको सिफारिस गरेको हो ।

प्राधिकरणले यसअघि नै १० युनिटसम्म मात्रै विद्युत् खपत गर्नेलाई मासिक ३० मात्रै लिएर विद्युत् उपलब्ध गराउने निर्णय गरिसकेको छ । मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहक करिब ७ लाख भएको प्राधिकरणको तथ्यांक छ । मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहक १७ लाख भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले विद्युत् माग पूरा गर्न भारतबाट विद्युत् आपूर्ति गरिरहेको छ । आगामी बर्खादेखि भने स्वदेशमै उत्पादित विद्युत् खेर जाने अनुमान छ ।