जनता टाइम्स

१८ माघ २०७६, शनिबार १४:२२

चीनमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर, दुई बिमान तयारी अवस्थामा रहेको पर्यटनमन्त्रीको जनाउ


काठमाडौं, माघ १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन जहाज तयारी अवस्थामा रहेको जानकारी दिनुभएको छ । कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा आज पर्यटन बोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा रहेको बताउनु भएको हो ।

पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको अवगत गराउँदै मन्त्री भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको जानकारी दिनुभयो । चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् । अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि दुईवटा जहाज तयारी अवस्थामा रहेको जानकारी दिनुभएको हो ।

‘दुईवटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् । दुबै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ’, पर्यटनमन्त्री भट्टराईले भन्नुभयो ।