जनता टाइम्स

२१ माघ २०७६, मंगलवार ०८:२३

महामारीको रुपमा फैलिदै कोरोना भाइरस : एकैदिन ६४ जनाको ज्यान गयो


काठमाडौं,. माघ २१ ।  चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।

कोरोनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ । चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको छ । ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ ।

चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्यान गैसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।
चीनमा एकैदिन तीन हजारभन्दा बढीमा सङ्क्रमण देखिएको र सोमबारमात्रै ६४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

चीनभन्दा बाहिर २४ देशमा गरी अहिलेसम्म एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भैसकेको छ ।

कोरोना भाइरसमा ज्यान गुमाउनेको सङ्ख्या सन् २००२–०३ मा सार्स भाइरसका कारण ज्यान गुमाउनेभन्दा धेरै भैसकेको छ । चीन र हङकङमा फैलिएको ‘सार्स’ भाइरसका कारण तीन सय ४९ जनाको ज्यान गएको थियो ।