जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार ११:४०

प्रदेश–२ का मूख्यमन्त्री राउतले नै गरेनन् अभिभावकत्व ग्रहण, अहिलेसम्म पढाईको रकम नै नपठाएको खुलासा


शुभ नारायण कामती \ सिरहा ।

प्रदेश–२ का मूख्यमन्त्री मो.लालबाबु राउतले गत वर्ष २०७५ वैशाखमा दलित बालबालिकालाई अभिभाकत्व ग्रहण गरेपनि जिम्मेवारी अनुसारको पठन पाठनको ब्यवस्था नमिलाएको खुलेको छ ।

विद्यार्थी भर्ना अभियान अन्तर्गत ०७५ वैशाख ५ गते प्रधानमन्त्री केपि शर्मा ओली, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेल उपस्थित कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री राउतले सिरहाको कल्याणपुर नगरपालिका स्थित राम दुलारी माध्यमिक विद्यालयमा दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले कल्याणपुर नगरपालिका–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक डोम र दिनेश मण्डल खत्वेकी छोरी रुपा कुमारी मण्डल खत्वेको अभिभावकत्व ग्रहण गर्नुभउको थियो । शिक्षामन्त्री पोखरेलले विनोद महराका छोरा राहुल कुमार महराको अभिभावकत्व ग्रहण गर्नुभएको थियो भने मुख्यमन्त्री राउतले लालबाबु मण्डल (खत्वे)का छोरा सोनु कुमार मण्डल (खत्वे) को अभिभावकत्व ग्रहण गर्नुभयो ।

इन्द्र मल्लिकका छोरी मनिषा कुमारी मल्लिकको अभिभावकत्व सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले लिनुभयो । त्यस्तै केन्द्रिय बाल कल्याण समितिका अध्यक्ष तारा धितालद्धारा अर्यन साह, प्रिन्स गोस्वामी, सिमांगी कु. साह, अंशु यादव, अमृता कुमारी मण्डल, कृष्ण कुमार मण्डल, सुशान्त यादव, मो. सकिल अन्सारी, रविन्द्र कुमार मण्डल र करिना ठाकुर गरी १० जनाको अभिभाकत्व लिने घोषणा गर्नुभएको थियो ।

अभिभावकत्व ग्रहण गरेका बालबालिकालाई पठाईमा लाग्ने सम्पूर्ण खर्च दिने घोषणा गरेको थियो । त्यसमध्ये प्रधानमन्त्री तथा शिक्षामन्त्रीले संयुक्त रुपमा प्रथम पटक नै २० हजार रुपैया र त्यसपछि पटक पटकका रकम विद्यालय मार्फत नै उपलब्ध गराउदै आउनु भएको छ । प्रमुख जिल्ला अधिकारीले पनि अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई पढाईखर्च दिइरहनु भएको छ भने केन्द्रिय बालकल्याण समितिले अभिभावकत्व ग्रहण गरेका १० जना विद्यार्थीलाई ७ हजारका दरले विद्यार्थीको खातामा रकम पठाउदै आउनु भएको छ । तर, मुख्यमन्त्री राउतले सोनु कुमार मण्डल खत्वेलाई अभिभावकत्व ग्रहण मात्र गरेको खुलेको छ । उहाले ति बालकलाई हालसम्म पठनपाठन पाठनको रकम समेत पठाउनु भएको छैन भने उनि के गरिरहेका छन् भनेर खोजी समेत नगरेको भेटिएको छ ।

मुख्यमन्त्रीले अभिभावकत्व ग्रहण गरेका बालकको अवस्था दयनिय रहेको छ । कल्याणपुर नगरपालिका–११ बस्ने खत्वेका पिता बिनोद र आमा शिलादेवीले अहिलेसम्म छोराको पढाईमा कुनै खर्च नआएको बताउनु भयो । ‘सोनु कुमार मण्डलको पढाइखर्च पाउन नजिकै रहेको माछापुच्छ्रे बैंकमा खोलेको खातामा पटक पटक खोज्दा पनि पढाईको खर्च नै आएको छैन भन्छ ’, उहाहरुले छोराको पढाईको रकम नपाएपछि आश मर्दै गएको दुखेसो पोख्दै ब्याग्त्मक शैलीमा भन्नुभयो,‘उडायो सपना सबै हुरीले ।’ विद्यालयमा पनि पाइने एक सरो कपडा पाएपनि दलित छात्रवितृबाट पाउने रकमबाट पनि बञ्चित रहेको शिलादेवी बताउछिन ।