जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार १४:३४

काठमाडौं मल घोटाला काण्डः करोडौंको घोटाला हुँदा पनि सम्बन्धित निकाय चुपचाप


काठमाडौं, जेठ २

काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सम्बन्धित निकायले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ । संघले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेको हो ।

संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज उठाएको तर सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश पोख्नुभयो ।

महराले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको बताउनु भयो । उहाँले भन्नुभयो ‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो । तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन् । म कहाँ–कहाँ जान्छु ? भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन् । अहिलेपनि मेरो ज्यानमाथि असुरक्षा छ ।’


त्यस्तै,उहाँले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको बताउनु भयो । उहाँका अनुसार दर्जनौं व्यवसायी अहिलेपनि पीडामा छन् । महराले मलमा देखिएको घोटालाबारे सञ्चयकोष बेखवरजस्तै बनेको पनि आरोप लगाउनु भयो ।

उहाँले ‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ । हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौं ।’ नयाँ टेण्डर खोल्दापनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उहाँको माग छ ।

कार्यक्रममा संघका सल्लाहकार उज्वलजंग शाहले मलमा भएको विसंगतिका बारेमा बोल्दा उल्टै आफूहरुलाई भौतिक रुपमै आक्रमण भएकोमा दुःखेसो पोख्नुभयो । आफूहरुले घोटालाबारे प्रमाणसहित सत्य कुरा बाहिर ल्याउँदा पनि सरोकारवाला निकायले कुनै चासो नदेखाएको बताउनु भयो ।उहाँले आफूहरुमाथि भौतिक आक्रमण भएको आज महिना दिन बित्न लाग्दापनि अहिलेसम्म सरकारले आक्रमणमा संलग्न व्यक्तिहरुलाई कुनै कारबाही नगरेकोमा आपत्ति जनाउनु भयो ।

कार्यक्रममा मलमा व्यवसाय गर्दै आएकी अजिता सिटौलाले आफूहरुले मलमा भएको अनियमितताको बारेमा बोल्दा उल्टै धम्की खाईरहेको सुनाउनु भयो । त्यस्तै मलमा व्यवसाय गर्दै आउनुभएकी संघका सदस्य अनिता बुढाथोकीले पनि मलमा भएको घोटालाबारे बोल्दा उल्टै ज्यान मार्न खोज्नु कानुनी राज्यको धज्जी उडाउने काम भएको टिप्पणी गर्नुभयो ।