जनता टाइम्स

९ फाल्गुन २०७६, शुक्रबार १२:५४

दक्षिण कोरियाको चलचित्रलाई ओस्कार अवार्ड दिएकोमा ट्रम्प रुष्ट


कोलोराडो, फागुन ९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ ले ओस्कार अवार्ड जितेकोमा दुःख व्यक्त गरेका छन् । बिहीबार कोलोराडोमा भएको चुनावी र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ‘प्यारासाइट’ दक्षिण कोरियाली चलचित्र भएकैले मन ओस्कार दिइनु गलत भएको बताएका हुन् ।

‘यस वर्षको एकेडेमी(ओस्कार)अवार्ड कति खराब थियो, तपाईँले ध्यान दिनुभयो ? र विजेता भयो… दक्षिण कोरियाको एउटा चलचित्र,’ ट्रम्पले भने। प्यारासाइटलाई अवार्ड दिनु गलत रहेको कारण बताउँदै ट्रम्पले भने, ‘यस्तो के वाइहात हो ? दक्षिण कोरियासँगको व्यापारमा हाम्रा थुप्रै समस्या छन्। यस्तो अवस्थामा दक्षिण कोरियाली चलचित्रलाई नै यस वर्षको उत्कृष्ट चलचित्रको अवार्ड दिए।’

बोङ जून होको निर्देशन रहेको ‘प्यारासाइट’ चलचित्र ओस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड जित्ने पहिलो विदेशी भाषाको चलचित्र हो। यसका साथै ‘प्यारासाइट’ ले उत्कृष्ट निर्देशक र उत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि जित्न सफल भएको थियो। ट्रम्पले अहिलेका चलचित्रप्रति असन्तुष्टि जनाइरहँदा ७० वर्षभन्दा पहिले बनेका अमेरिकी चलचित्रप्रति भने रुचि देखाएका थिए।

‘म गोन विथ द विन्ड जस्ता चलचित्र खोजिरहेको छु, के हामीकहाँ गोन विथ द विन्डजस्ता चलचित्र छैनन्। सनसेट बुलेवार्डजस्ता चलचित्र थुप्रै महान चलचित्र छन् नि,’ ट्रम्पले भने। ‘गोन विथ द विन्ड’ सन् १९३९ मा बनेको ऐतिहासिक अमेरिकी चलचित्र हो। मार्गरेट मिचेलको उपन्यासमा आधारित भएर बनाइएको यस चलचित्र भिक्टर फ्लेमिङले निर्देशन गरेका थिए।

‘प्यारासाइट’ राम्रो छ वा छैन भन्नेबारे भने आफूलाई केही जानकारी नभएको बताउँदै ट्रम्पले भने, ‘मलाई लाग्छ यो विदेशी भाषाको उत्कृष्ट चलचित्र हुन सक्थ्यो तर सर्वोत्कृष्ट चलचित्र नै। यसभन्दा पहिले यस्तो कहिल्यै भएको थियो ?’

‘प्यारासाइट’ को अमेरिकी वितरक निअनले राष्ट्रपति ट्रम्पको विवादास्पद अभिव्यक्तिको आलोचना गरेको छ। निअनले ट्विटरमा लेखेको छ, ‘बुझ्न सकिने कुरा हो, उनी पढ्न सक्दैनन्।’ त्यस्तै राष्ट्रपति ट्रम्पले आफू ब्राड पिटको प्रशंसक नभएको पनि बताएका छन्। हलिउड अभिनेता पिटले ओस्कारमा उत्कृष्ट सह–अभिनेताको अवार्ड ग्रहण गर्दा ट्रम्पविरुद्धको महाभियोग प्रस्तावको प्रसंग ल्याएका थिए। ‘म ब्राड पिटको ठूलो प्रशंसक कहिल्यै थिइनँ तरउसमा केही बुद्धिमता भने देखिन्छ।’ (एजेन्सी)