जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १७:०२

प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोली


काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकको टोली सहभागी भएको थियो । भारतीय चिकित्सक अनन्त कुमार पनि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा खटिएका थिए ।

त्रिवि शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण टोलीको नाम सार्वजनिक गरेको छ । मिर्गौला प्रत्यारोपण टोलीमा प्रा। डा। उत्तमकुमार शर्मा, प्रा। डा। प्रेम ज्ञवाली, प्रा। डा। अनन्त कुमारलगायतको सहभागिता रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै मिर्गौला प्रत्यारोपण चिकित्सक टोलीमा प्रा. डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रबिन नेपाली लगायतको टोली सहभागी थियो ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहालाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिनु भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्काका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । ‘उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा छन् । प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ’ पत्रकारसामू खड्काले भन्नुभयो । प्रधानमन्त्री ओलीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।