जनता टाइम्स

२२ फाल्गुन २०७६, बिहीबार १६:२१

राष्ट्रपतिसमक्ष नेपालका लागि भारतिय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


काठमाडौं, फागुन २२

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ । राष्ट्रपति निवास महाराजगञ्ज पुगेर उहाले आज ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

३० वर्ष भारतीय विदेश सेवामा कार्यरत क्वात्राले यसअघि फ्रान्सको राजदूत भएर काम गरिसक्नु भएको छ । तत्कालिन भारतीय राजदूत मञ्जिवसिंह पुरी दुई वर्षको कार्यकाल सकेर फर्केपछि भारतले नेपालमा क्वात्रालाई नयाँ राजदूत पठाएको हो । उहा केही दिनअघि मात्र नेपाल आउनु भएको हो ।

को हुन् विनय क्वात्रा ?

सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका क्वात्राले सन् १९९३ सम्म जेनेभास्थित परमानेन्ट मिसन अफ इन्डियामा अधिकृत भएर काम गरे । उनले त्यहीँ फ्रान्सेली भाषा सिक्नेबाहेक संयुक्त राष्ट्र संघको मानव अधिकार आयोगअन्तर्गत विशेष एजेन्सीसँग सम्बन्धित काम पनि गरे ।

यही अवधिमा जेनेभाको स्कुल अफ इन्टरनेशनल स्टडिजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा कोर्स पुरा गरे । १९९३ देखि २००३ सम्म डेस्क अफिसर भएर राष्ट्र संघको हेडक्वार्टरमा काम गरे र दक्षिण अफ्रिका र उज्वेकिस्तानमा डिप्लोम्याटिक मिसनमा काम गरेका थिए । सन् २००३ देखि २००६ सम्म काउन्सिलर र चिनको बेइजिङमा भारतीय मिसनको डेप्युटी चिफ भएर काम गरे । सन् २००६ देखि २०१० सम्म क्वात्राले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त ब्युरो प्रमुख भएर नेपालमा काम गरे ।

सन् २०१० को मेदेखि जुलाई २०१३ सम्म वासिंग्टनस्थित भारतीय दुतावासमा वाणिज्य मन्त्री भएर काम गरे । जुलाई २०१३ देखि अक्टुबर २०१५ सम्म क्वात्राले अमेरिका तथा क्यानडाका लागि विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान डिभिजनको नेतृत्व गरे र पछि विदेश मन्त्रालय अमेरिकामा डिभिजन प्रमुखको रुपमा काम गरे ।

अक्टुबर २०१५ देखि अगस्ट २०१७ सम्म क्वात्राले ज्वाइन्ट सेक्रेटरीको रुपमा प्रधानमन्त्री कार्यालयमा काम गरे । उनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर तथा अर्थशास्त्रमा एम फिल गरेका छन् ।