जनता टाइम्स

२३ फाल्गुन २०७६, शुक्रबार १४:१६

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गराउँछु : नवनियुक्त अध्यक्ष अर्याल


काठमाडौं, फागुन २३

न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताउनुभएको छ । आज पदभार ग्रहण गर्दै उहाँले सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराउने बताउनुभयो । उहाँले अहिलेको महङ्गीले पनि पत्रकारको नयाँ तलबमान पुनरावलोकन आवश्यक रहेको धारणा राख्नुभयो ।

समिति गठन भएको २५ वर्ष पुग्दा पनि पत्रकारको पेशागत र भौतिक अवस्थामा सुनिश्चित नभएको भन्दै उहाँले सञ्चारमाध्यमले पनि न्यूनतम पारिश्रमिक लागू गरेर मर्यादित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले पत्रकारको पेशागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । उहाँले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा गराउनुपर्ने बताउनुभयो ।

पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाका लागि महासङ्घ लागि परेको भन्दै सरकारले नयाँ तोकेको तलबमान लागु गराउनुपर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार प्रत्याभूत गराउनुपर्ने बताउनुभयो । नवनियुक्त अध्यक्ष अर्याललाई समितिका सदस्य केपी गौतमले स्वागत गर्नुभएको थियो ।

सदस्य गौतमले वर्तमान सरकारले तोकेको पारिश्रमिक लागू गराउनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य टङ्क पन्त, पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्टले बधाई दिनुभएको थियो । विगत २० वर्षदेखि क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष हुनुहुन्थ्यो । यहि फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।