मकवानपुर, फागुन २४
प्रदेश गौरवका आयोजनाका रूपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्गको लागत १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । तीन वर्षमा सक्ने गरी सुरुङमार्ग निर्माण सुरु हुने प्राविधिक अध्ययन गरिरहेको टोलीले जनाएको छ । ‘सुरुङमार्गको लम्बाइ २ दशमलव २५ किमि हुनेछ’, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेव भण्डारीले भने, ‘११ मिटर फराकिलो सुरुङमार्ग दुई लेनको हुनेछ । आपतकालीन अवस्थामा प्रयोग हुने गरी सँगै पाँच मिटर फराकिलो अर्को सुरुङमार्ग पनि बन्नेछ । अहिले प्राविधिक काम अन्तिम चरणमा पुगेको छ । हामी वैशाखमा टेन्डर आह्वान गरेर काम सुरु गर्ने चरणमा छौं ।’
सुरुङमार्गसँगै ग्यास र इन्धनको पाइपलाइन बनाउने गरी काम अघि बढेको उनले बताए । सुरुङमार्गमा मानिस, मोटरसाइकल र साइकललाई प्रवेश गर्न नदिइने उनको भनाइ छ । इटेको नेपाल प्रालिले सात वटा फरकफरक विषयमा प्राविधिक अध्ययन गरिरहेको छ । ‘यो परियोजनामा हामीले माघदेखि अध्ययन गरिरहेका छौं,’ भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर पुण्यराम सोलुले भने, ‘भौगोलिक रूपमा सुरुङमार्ग निर्माणमा कुनै कठिनाइ नआउने देखिएको छ । हामीले थप प्राविधिक अध्ययन गरिरहेका छौं । माटो परीक्षणको काम पनि भइरहेको छ । यसको रिपोर्ट आएपछि हामीले टेन्डर प्रक्रिया सुरु गर्छौं ।’ अध्ययन टोलीले वैशाख १० भित्र मन्त्रालयमा अन्तिम प्राविधिक प्रतिवेदन पेस गर्नेछ ।
सुरुङ निर्माणका लागि आवश्यक समन्वय केन्द्र सरकारसँग पनि हुने वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले बताए । ‘केन्द्र सरकारसँग विविध विषय टुंगो लगाउनुपर्नेछ । हामीले टेन्डरअघि नै सबै विषय टुंग्याउनेछौं,’ उनले भने । सुरुङमार्ग निर्माणका लागि आवश्यक बजेट केन्द्र सरकारले पनि सहयोग गर्ने उनको भनाइ छ ।
प्रदेश गौरवको आयोजनाका रूपमा पहिलो वर्षबाट नै चर्चा गरिए पनि चालु आर्थिक वर्षको अन्त्यसम्ममा टेन्डर प्रक्रिया सुरु हुने उनको दाबी छ । सुरुङमार्गसँग जोडिने कुलेखानी–फाखेल–काठमाडौं र कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डको स्तरोन्नतिको काम चालु आवबाटै सुरु भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्