जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार ०६:३१

नारी दिवसमा उपराष्ट्रपति पुनको शुभकामना : महिलाहरु सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि असम्भव


काठमाडौं, फागुन २५ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।

११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताउनुभयो । उहाँले महिला दिवसले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

संविधानले महिलालाई धेरै हदसम्म अधिकारसम्पन्न बनाउनु ज्यादै खुशीका कुरा भएको उल्लेख गर्दै उपराष्ट्रपतिले संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै जानु सकारात्मक भएको बताउनुभयो ।

“राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको छ”, सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ, “जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुषसरह समान अवसर पाउनु पर्दछ ।”

उहाँले महिला दिवसले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उत्साह, जोश, जाँगर तथा शक्ति थपियोस भनी कामनासमेत गर्नुभएको छ ।