जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार ०८:००

मुख्यमन्त्री शंकर पोखरेलको प्रस्ताव : अन्तराष्ट्रिय महिला दिवस पारिवारिक रुपमा मनाऔं


बुटवल, फागुन २५ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय महिला दिवस पारिवारिक रुपमा मनाउन आग्रह गर्नुभएको छ । नारी दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पोखरेलले यस्तो आग्रह गर्नुभएको हो । कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं सरकारले भेला, सभा र सम्मेलन नगर्न आग्रह गरेको छ । तसर्थ अन्तराष्ट्रिय महिला दिवस पारिवारिक रुपमा मनाऔं । यो वर्षको अन्तराष्ट्रिय महिला दिवसलाई कोरोना भाइरस विरुद्धको सर्तकता र सचेतना दिवसको रुपमा मनाउन अपील गर्दछु, मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।

यस्तो छ मुख्यमन्त्री पोखरेलको शुभकामना

आज मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवस । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा विश्वमा मार्च ८ लाई मनाइन्छ । नेपालमा महिला सशक्तिकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनैतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा मनाइदैं आएको छ । जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाहरुले गरेको संघर्ष निकै अविस्मरणीय छ । ती अध्याँरा र अप्ठारा दिनमा मार्च ८ को विशेष महत्व थियो । महिला आन्दोलन केवल महिला अधिकार र समानताको लडाईमा मात्रै सिमित नभएर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण र फराकिलो दायरामा विस्तार भएको थियो । लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पुर्याउन महिला दिवसको सन्दर्भमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै महिलाहरुको सक्रियता, जुझारुपन र अठोटको हार्दिक सम्मान व्यक्त गर्दछु ।

विगतमा भएका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न संभव भएको हो । राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ । समावेशी, समानुपातिक र लैंगिक हिसाबले पनि नेपालको संविधान विश्वमै नमूना छ । महिला समानतासंग सम्बन्धित विभिन्न विषयलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ । विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा हामी जुटिरहेका छौं ।

अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन्, यस्ता कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ । कानुनको सही कार्यान्वयन गर्न राज्यलाई सघाउ पुर्याउदै अघि बढे हामी यी समस्याको समाधान गर्न सक्छौं । यस वर्षको महिला दिवसको नारा समानताको पुस्ताः अन्त्य गरौं, हिंसा, विभेद र असमानता रहेको छ । संविधानको सफल कार्यान्वयन गर्दै समतामुलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न म सबै राजनैतिक दल,समुदाय,संघसंस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

यो वर्ष कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं सरकारले भेला, सभा र सम्मेलन नगर्न आग्रह गरेको छ । तसर्थ अन्तराष्ट्रिय महिला दिवस पारिवारिक रुपमा मनाऔं । यो वर्षको अन्तराष्ट्रिय महिला दिवसलाई कोरोना भाइरस विरुद्धको सर्तकता र सचेतना दिवसको रुपमा मनाउन अपील गर्दछु । अन्त्यमा, ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सबै महिला दिदीबहिनीहरुप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।