जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार ११:१४

अन्तराष्ट्रिय महिला दिवसबारे जान्नैपर्ने यी पाँच कुरा


काठमाडौं, फागुन २५ । आठ मार्च अर्थात आजको दिन । आज संसारभरी अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । यसको सुरुवात आजभन्दा करिब एक शताब्दी अघि समाजवादी आन्दोलनमार्फत भएको थियो । अहिले यसको स्वरुप निकै परिवर्तन भइसकेको छ । संसारका हरेक भागमा महिला दिवस फरक फरक तरिकाले मनाइन्छ ।

अन्तराष्ट्रिय महिला दिवसबारे मिडियामार्फत थाहा पाउनुभएको होला वा कतिले साथीमार्फत यसबारे जानकारी पाउनुभएको होला । तर यो अन्तराष्ट्रिय महिला दिवस किन मनाइन्छ त ? यस्को के महत्व छ ? अन्तराष्ट्रिय श्रमिक महिला दिवस कुनै उत्सव हो कि विरोधको नयाँ तरिका ? हामी तपाईंलाई यसको कारण के हो भनेर जानकारी दिँदैछौं ।

यसको सुरुवात कहिले भएको थियो ?

अन्तराष्ट्रिय महिला दिवस वास्तवमा मजदुर आन्दोलनको उपज हो, जसलाई पछि संयुक्त राष्ट्रसंघले वार्षिक आयोजनाको मान्यता दियो । अन्तराष्ट्रिय महिला दिवस आजभन्दा १ सय १२ वर्ष अघि अर्थात सन १९०८ मा मनाउन सुरु भएको थियो । त्यतिबेला अमेरिकाको न्यूयोर्क शहरमा करिब १५ हजार महिला सडकमा उत्रिएका थिए । ती महिलाले कामको घण्टा, राम्रो तलब र भोट हाल्न पाउने अधिकारका लागि माग गर्दै प्रदर्शन गरिरहेका थिए । महिलाको यो विरोध प्रदर्शनको एक वर्षपछि अमेरिकाको सोशलिस्ट पार्टीले राष्ट्रिय महिला दिवस मनाउने घोषणा गरेको थियो । महिला दिवसलाई अन्तराष्ट्रिय स्तरमा मनाउने विचार क्लारा जेटकिनको थियो ।

क्लारा जेटकिनले सन् १९१० मा विश्व स्तरमा महिला दिवस मनाउने प्रस्ताव पेश गर्नुभएको थियो । क्लाराले त्यतिबेला युरोपेली देश डेनमार्कको राजधानी कोपेनहेगेनमा कामकाजी महिलाको अन्तरराष्ट्रिय सम्मेलनमा उपस्थिती जनाउनु भएको थियो । उक्त सम्मेलनमा त्यतिबेला सय जना महिलाको उपस्थिती थियो, जो १७ देशबाट आएका थिए । यी सबै महिलाले सर्वसम्मतिमा क्लाराको यो प्रस्तावलाई पारित गरेका थिए । पहिलो अन्तराष्ट्रिय महिला दिवस सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विटजरल्याण्डमा मनाइएको थियो ।

यसको शताब्दी समारोह सन २०११ मा मनाइएको थियो । त्यसकारण यस वर्ष हामी १ सय ९ औं अन्तरराष्ट्रिय महिला दिवस मनाइरहेका छौं ।
अन्तराष्ट्रिय महिला दिवसले औपचारिक मान्यता सन १९७५ मा त्यतिबेला पायो जब संयुक्त राष्ट्र संघले यसलाई मनाउन सुरु र्गयो । अन्तराष्ट्रिय महिला दिवसलाई सन् १९९६ मा एउटा थीम अनुसार मनाइएको थियो । त्यतिबेला संयुक्त राष्ट्रले यसको थीम बनाएको थियो– ‘अतितको उत्सव, भविष्यको योजना ।’ यस वर्ष अन्तराष्ट्रिय महिला दिवसको थीम निश्चित गरिएको छ– ‘एक सशक्त विश्वमा समानतामा आधारित दुनियाँ ।’

यसमार्फत महिला र पुरुषका लागि समान अधिकार सम्पन्न संसारको निर्माणमा सबै देशका समस्त नागरिकलाई अपिल गरिँदै छ । आज अन्तराष्ट्रिय महिला दिवस एउटा यस्तो दिन बनेको छ जसमा हामी समाजमा, राजनीतिमा र अर्थव्यवस्थाको क्षेत्रमा महिलाको सफलताको उत्सव मनाउँछौं । यसको मद्दतले आज पनि संसारमा पुरुष र महिलाबीच कति असमानता छ, कति ठूलो खाडल छ भनेर जानकारी दिइन्छ ।

अन्तराष्ट्रिय महिला दिवस कहिले छ ?

संसारभरी अन्तरराष्ट्रिय महिला दिवस ८ मार्चमा मनाइन्छ । यद्यपि, जब अमेरिकी महिला अधिकार कार्यकर्ता क्लारा जेटकिनले अन्तरराष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव राख्नुभएको थियो, उहाँले यसका लागि कुनै दिन निश्चित गर्नुभएको थिएन । जब सन् १९१७ मा रुसमा महिलाले ‘ब्रेड एण्ड पीस’ को माग गर्दै चार दिनसम्म हड्ताल गरे तब यसले औपचारिकता पायो । त्यसपछि रुसका बादशाह जार निकोलसले आफ्नो पद छोड्नु र्पयो । तसर्थ रुसमा बनेको अस्थायी सरकारले महिलालाई भोट गर्ने अधिकार दियो ।

जब रुसमा यो हड्ताल भएको थियो तब त्यहाँ जुलियन क्यालेन्डर चल्थ्यो । जसअनुसार उक्त दिन फेब्रुअरी २३ तारिख थियो । यस्तै, संसारका अन्य देशमा प्रचलित ग्रेगरियन क्यालेन्डरमा त्यो मार्च ८ तारिखको दिन थियो । त्यसकारण त्यतिबेलादेखि अन्तराष्ट्रिय महिला दिवस ८ मार्चमा नै मनाउन थालियो ।

के अन्तरराष्ट्रिय पुरुष दिवस पनि हुन्छ ?

हो । अन्तराष्ट्रिय पुरुष दिवस पनि हुन्छ जुन नोभेम्बर १९ मा मनाइन्छ । यसको आयोजना सन् १९९० को दशकबाट सुरु भएपनि अहिलेसम्म यसले संयुक्त राष्ट्रबाट मान्यता भने पाएको छैन । यद्यपि, संसारभरी ६० भन्दा बढी देशमा मानिसहरुले अन्तरराष्ट्रिय पुरुष दिवस मनाउँछन् जसमा ब्रिटेन पनि समावेश छ । यस दिन ‘पुरुष र किशोरको स्वास्थ्यमा ध्यान दिनु, लैङ्गिक सम्बन्धलाई उत्कृष्ट बनाउनु, लैङ्गिक समानतामा जोड दिनु र समाजमा नकारात्मक भूमिका निभाउने पुरुषको प्रचार गर्नु’ लगायतका मुद्दा उठाइने गरिन्छ । सन् २०१९ मा अन्तराष्ट्रिय पुरुष दिवसको थीम थियो– पुरुष र किशोरको जीवनमा परिवर्तन ल्याउनु ।

संसारभरी कसरी मनाइन्छ अन्तराष्ट्रिय महिला दिवस ?

धेरैजसो देशमा अन्तराष्ट्रिय महिला दिवसमा राष्ट्रिय अवकाश हुन्छ । यसमा रुस पनि समावेश छ जहाँ ८ मार्च को लगभग तीन चार दिन अघिदेखि फूलको बिक्री दुई गुणा बढी हुन्छ । चीनमा धेरैजसो महिलालाई ८ मार्चमा आधा दिनको छुट्टी दिइन्छ । यद्यपि, धेरैजसो कम्पनीले आफ्ना महिला कर्मचारीलाई यो दिन आधा दिनको सरकारी छुट्टी दिँदैन । इटलीमा अन्तराष्ट्रिय महिला दिवसलाई ला फेस्टा डेला डोनाको नामले मनाइन्छ ।

महिलालाई मिमोसाको फूल दिइन्छ । यो परम्पराको सुरुवात कसरी भयो, त्यो त स्पष्ट छैन तर दोस्रो विश्वयुद्ध पछि इटलीको राजधानी रोममा महिलालाई अन्तराष्ट्रिय महिला दिवसमा मिमोसाको फूल दिने चलनको सुरु भएको अनुमान गरिन्छ । अमेरिकामा मार्चको महिनालाई महिलाको इतिहासको महिनाको रुपमा मनाउने गरिन्छ । हरेक वर्ष यो दिन राष्ट्रपतिले एउटा आदेश जारी गरेर अमेरिकी महिलाको उपलब्धिको बखान गर्ने गर्छन् ।

यस वर्ष के–के भइरहेको छ ?

यो वर्ष अन्तरराष्ट्रिय महिला दिवस अभियानले इच फर इक्वाएल थीम छानेको छ । यो विचार सामूहिक व्यक्तिवादमार्फत् लिइएको हो । अभियान अन्तर्गत के हुनेछ, यसलाई यसरी परिभाषित गरिएको छ – ‘हामी सबै एक सम्पूर्ण विश्वको हिस्सा हौं । हाम्रो व्यक्तिगत काम, संवाद, व्यवहार र सोचले हाम्रो समाजमा व्यापक असर पार्छ । त्यसकारण हामी सबै मिलेर एउटा ठूलो परिवर्तन ल्याउन सक्छौं । हामी सबैले मिलीजुली एक लैङ्गिक रुपमा समान संसारको रचना गर्न सक्छौं ।’

पछिल्ला केही वर्षमा हामीले महिलाको अन्दोलन व्यापक स्तरमा पुगेको देखेका छौं । सन् २०१७ मा अक्टोबरमा लाखौं मानिसले ह्याशट्याग मीटु अभियान सोसल मिडियामा सुरु गरेर शोषण र यौन हिंसाको आफ्नो अनुभवविरुद्ध आवाज उठाए । यी महिलाले संसारभरीका महिलाको यौन शोषण बन्द हुनुपर्ने माग गरे । सन् २०१८ मा पनि मिटु संवाद विश्व स्तरमा जारी रह्यो । फ्रान्स, चीन, दक्षिण कोरिया, भारतजस्ता देश महिलाको यो अभियानको हिस्सा बन्यो र उनीहरुले स्थितीमा परिवर्तनको मागलाई तीब्र पारे । अमेरिकामा भएको मध्यावधि चुनावमा रेकर्ड स्तरमा महिलाले जीत हासिल गरे ।