काठमाडौं, फागुन २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी निकट पत्रकारहरु नै पार्टी सकाउने अभियानमा लागेको भन्दै गम्भीर असन्तुष्टि जनाउनु भएको छ । नेकपा निकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीको कार्यक्रममा नेकपाका प्रवक्ता श्रेष्ठले यस्तो तथ्य राख्नुभएको हो ।
‘पार्टीको नेता जुधाउने र खेलोपडको गर्ने समाचार आयो भने बुझ्दा हुन्छ, त्यहाँ हामीसँगै आवद्ध कोही न कोही पत्रकार छन,’ श्रेष्ठले भन्नुभयो । उहाँले पार्टीसँगको आवद्धतालाई पत्रकारहरुले आफ्नो मालिकका लागि राम्रो बन्ने हतियारको रुपमा प्रयोग गरेको भन्दै आक्रोश पनि पोख्नुभयो । ‘जे गर्दा नेकपा कमजोर हुन्छ, त्यही काम हामी निकटकै पत्रकारबाट भइरहेको छ, तथ्यको आधारमा सत्य स्थापित गर्नेतिर होइन कि पार्टीसँगको आवद्धतालाई आफ्नो मालिक र हाउसको लागि राम्रो हुन प्रयोग गर्ने काम भइरहेको छ, यो अत्यन्तै गलत भइरहेछ, यस्मा सुधार गर्न जरुरी छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
उहाँले आफूहरु पर्चाकार होइन, सत्यको बाटोमा लाग्ने असल पत्रकारको पक्षमा रहेको भन्दै पछिल्लो समय पार्टी निकट भनिएकै पत्रकारहरु बिग्रदै गएको संकेत पनि गर्नुभयो । ‘सत्य कुरा लेख्दै नलेख्ने, यसो चटपटे हाल्ने, बिषयबस्तुको गहिराइमा नपुगी सतही बन्ने, पार्टीको हितमा होइन, आफ्नो पाइदाको लागि काम गर्नै प्रबृत्ति बढेको छ,’ श्रेष्ठले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्