जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार १९:००

१० अर्व जोगाउँदा आफै पासोमा परे गोकुल बाँस्कोटा


काठमाडौं, फागुन २५ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुलुकको १० अर्व जोगाउने निर्णय लिएकै कारण अडियो प्रकरणको चक्रब्यूह रचिएको तथ्य बाहिर आएको छ । सेकुरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारले गठन गरेको समितिले तयार पारेको इष्टिमेट भन्दा १० अर्व कम रुपैयामा खरिद गर्ने निर्णय लिएपछि बाँस्कोटालाई मन्त्रीबाट हटाउन कमिशन डिलको अडियो प्रकरण सार्वजनिक भएको पाइएको हो ।

कमिशन डिल भएको भनिएको अडियो बाहिर आएपछि उहाँले राजीनामा दिनुभएको थियो । निवर्तमान मन्त्री बाँस्कोटाले सेकुरिटी प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको तथ्यसमेत राख्नुभएको छ । सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरूपमा अडियो सार्वजनिक गरेर आफूलाई बदनाम गराउने काम गरेको तथ्य पनि राख्नुभयो । सात वटा मन्त्रालयका सह–सचिव र निर्देशकसहितको नौ सदस्यीय समितिले बुझाएको प्रतिवेदनका आधारमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले कमिशन नपाउने भएपछि आफैमाथि षडयन्त्र भएको बताउनु भयो ।

‘समितिले निकालेको अनुमानित लागतभन्दा १० अर्ब रुपियाँ कममा खरिद गर्न लाग्दा शक्ति केन्द्रहरूले चलेखल गरे,’ बाँस्कोटाले भन्नुभयो । ७० करोड कमिसन मागेको भन्दै अडियो सार्वजनिक भएपछि बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । राजीनामा दिएपछि उहाँले आफूले गलत नगरेको प्रष्ट पार्दै दोषी प्रमाणित भए सजाय भोग्न तयार भएको प्रतिक्रिया दिनुभएको थियो । राजीनामा दिएको आठ दिनपछि फागुन १६ गते बाँस्कोटाले आफूविरुद्ध झुट्टा लान्छना लगाएको भन्दै जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको थियो । उहाँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनको डिल भएको भनिएको अडियो टेप सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।

बाँस्कोटाले जिल्ला अदालतमा दर्ता गराउनुभएको मुद्दा विचाराधीन रहेको छ । २०७६ साल कात्तिक २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार सुरक्षण मुद्रणसम्बन्धी उपकरण सावजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम ५ (ख) बमोजिम सरकार–सरकार खरिद (जीटूजी) विधिबाट गर्ने निर्णय भएको र सो सम्बन्धमा कानुनी तथा प्रशासनिक प्रक्रियागत विषयमा राय सुझाव पेस गर्न सञ्चार मन्त्रालयले २०७६ मंसिर ६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सात मन्त्रालयका प्रतिनिधिहरू रहेको नौ सदस्यीय समिति गठन गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव राधिका अर्याल संयोजक रहनुभएको समितिको सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालका सहसचिव युवराज सुवेदी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल, राहदानी विभागका महानिर्देशक रामकाजी खड्का, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेल, गृह मन्त्रालयका उपसचिव दीपकराज नेपाल र राहदानी विभागका उपसचिव तीर्थ अर्याल रहनुभएको थियो । समितिले प्रतिवेदन तयार पारेर मन्त्रालयलाई बुझाएको थियो ।

समितिले नेपालमा गरिने मुख्यमुख्य सुरक्षण मुद्रण सामग्रीहरूको माग र आवश्यकता (संख्या गुणस्तर र क्षमता पहिचान गरी सूची तयार गर्ने, सरकार–सरकार जीटूजी खरिद विधिको प्रक्रिया तय गर्ने, सुरक्षण मुद्रणको क्षेत्रमा अग्रणी स्थानमा रहेका एवं सो सम्बन्धमा सम्पर्कमा आएका मुलुकहरू भए सो को सूची तयार गरी पेश गर्ने, सुरक्षण मुद्रण सम्बन्धमा विभिन्न मुलुकहरू (जर्मन र फ्रान्स) बाट प्राप्त हुन आएका मुलुकको सर्वोत्तम हितमा हुने प्रस्ताव यकिन गरी मन्त्रालयलाई सुझाव दिने अधिकार पाएको थियो । सेक्युरिटी मेसिन खरिद प्रक्रिया अगाडि बढाउने क्रममा सञ्चार मन्त्रालयका सचिव दीपक सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शकंर बैरागी र अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाको पनि उक्त प्रक्रियामा सहभागिता रहेको थियो ।

समितिले प्रेस खरिद गर्नका लागि करिब ३३ अर्ब लागत अनुमानसहितको प्रतिवेदन बुझाए पनि तात्कालिन मन्त्री बाँस्कोटाले २३ अर्ब रुपैयाँमा प्रेस खरिद गर्न प्रक्रिया अगाडि बढाउनु भएको थियो । समितिले दिएको प्रतिवेदन अध्ययन गरेर देशलाई फाइदा हुने गरी सरकार–सरकार (जीटूजी) खरिद गर्ने विषय अघि बढेपछि उहाँलाई फसाउन र खरिद प्रक्रिया रोक्न बिभिन्न समयमा बोलिएको अडियो जोडेर षडयन्त्र गरिएको हो । समितिले तयार पारेको प्रतिवेदनमा फ्रान्सको इनगु्रप नामक कम्पनीले २४.६१ अर्ब र जर्मनी भेरिडोस कम्पनीले २३.२८ अर्बमा प्रेस स्थापना गर्न सकिने उल्लेख गरिएको थियो । यी दुवै सरकारी आधिकारिक कम्पनी हुन । इनगु्रप फ्रान्स र भेरिडोस जर्मन सरकारको कम्पनी हो ।

खरिद प्रक्रियामा अनियमितताको चलखेल भएको थाहा पाएपछि आफूले सरकार–सरकार (जीटूजी) गरेपछि आफूमाथि प्रेसर आएको बताउँदै शक्ति केन्द्रको दबाबलाई बेवास्था गरेपछि त्यो शक्ति आफ्नोविरुद्ध लागेको बाँस्कोटाले बताउनुभयो । सेक्युरिटी पे्रस खरिद प्रक्रियामा अनियमितता हुन नदिन जीटूजी गर्ने निर्णय लिएको बताउँदै पारदर्शी ढंगले काम अगाडि बढाउँदा आफ्नाविरुद्ध योजनाबद्ध रूपमा लान्छना लगाउने काम भएको उहाँको भनाई छ । ‘म देश बनाउन आएको हो, गलत नियत केही पनि थिएन र छैन, मेरो बोली छुच्चो होला तर नियत सफा छ, छुच्चो मान्छेको मन सफा हुन्छ, केही नखाएको मान्छे डराउनुपर्दैन, घूस लिने र दिने दुवै देशका शत्रु हुन,’ बाँस्कोटाले भन्नुभयो ।

सार्वजनिक भएको अडियोको विषयमा जिज्ञासा राख्दा उहाँले आफ्नो संवाद भए पनि टुक्राटुक्रा मिलाएर बनाएको प्रष्ट पार्नुभयो । ‘मैले विभिन्न प्रसंगमा बोलेका विषयहरूको टुक्राटुक्रा मिलाएर इडिट गरिएको छ, न्यायका लागि जिल्ला अदालत गइसकेको छु, अब अदालतले बोल्छ,’ बाँस्कोटाले भन्नुभयो ।