जनता टाइम्स

२६ फाल्गुन २०७६, सोमबार ०८:१४

गृहको अपील : होलीमा रंग नदल्नू, लोलापानी नहान्नू 


काठमाडौं, फागुन २६ । गृह मन्त्रालले होलीमा विगतमा जस्तो भेला हुने, लोलापानी हान्ने वा शरीरमा रंग तथा अविर नदल्न सवैलाई आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा, सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ । सरकार आफैंले सगरमाथा संवाद कार्यक्रम समेत स्थगित गरेको छ भने खेल प्रतियोगिताहरु पनि रोकिएका छन् ।

गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरी कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बढी भीडभाड हुने कुनै पनि सभा, सम्मेलन भेला था कार्यक्रम नगर्न आग्रह गरेको हो । ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ,’ गृह मन्त्रालयले भनेको छ ।

गृहले कोरोनाको संक्रमण रोक्न उपभोग्य बस्तु खरिद तथा भण्डारणमा हतार नगर्न पनि अपील गरेको छ । कोरोना भाइरसको त्रासका कारण सार्वसाधारणले दैनिक उपभोग्य बस्तुका साथै ग्यास भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले हतार नगर्न अपील गरेको हो । साथै कालोबजारी वा कृतिम अभाव गएको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गरेको छ ।