जनता टाइम्स

२७ फाल्गुन २०७६, मंगलवार १३:५५

संबिधानको हुर्मत लिने नेकपाको तीन निर्णय


काठमाडौं, फागुन २७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र संबिधानको हुर्मत लिने काम क्रमशः बढेर जान थालेको छ । संबिधानले नै क्षेत्राधिकार तोकेर गरेको ब्यवस्थाबिपरित नेकपाले यस्तो काम गरेको हो ।

नेकपाले प्रदेश प्रमुखको नियुक्तिको बिषयलाई लिएर पहिलो पटक संबिधानको हुर्मत लिने काम गर्यो । सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुने प्रदेश प्रमुखको बिषयमा नेकपाले सचिवालय बैठक राखेर फलानो प्रदेशमा फलानो ब्यक्तिको नियुक्त गर्ने निर्णय भएको छ भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । जवकी प्रदेश प्रमुख पार्टीको बिषय होइन । पार्टीले बैठक बसेर निर्णय नै गरेको भएपनि सरकारलाई प्रदेश प्रुमख नियुक्तिको बिषयमा सिफारिश गरिएको छ भन्दै नाम सार्वजनिक गर्नुहुने थिएन । तर नेकपाको सचिवालय बैठकले आफैले बनाएको संबिधानको हुर्मत लिँदै निर्णय नै सार्वजनिक गर्यो ।

पहिलो निर्णयमा सामान्य टिप्पणी भएको कारण नेकपाका सचिवालयका नेताहरुको मनोवल झनै माथि उठ्यो । दोस्रो पटक प्रदेश सभाको क्षेत्राधिकार रहेपनि सचिवालयले बागमति प्रदेशको राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेर दोस्रो पटक संबिधानको हुर्मत लिने काम गर्यो । जुन निर्णयको प्रदेश सांसदबाट चर्काे बिरोध भयो । बागमति प्रदेशका अगुवा पनि यो निर्णय संबिधानको मर्म अनुकुल भएन भन्दै आवाज उठाए । चर्काे बिवादबीच प्रदेश सांसदहरुले पार्टीको निर्णय माने । बागमति नाम र हेटौंडा स्थायी राजधानी बन्यो । सम्बन्धित प्रदेशका सांस्द बोलाएर भन्नुपर्ने कुरा निर्णय नै गरेर नेकपाले दोस्रो पटक संबिधानको हुर्मत लियो । चर्काे बिरोध भएकोले अव त नेकपा सचिवालयले संबिधानको हुर्मत लिने काम गर्दैन भन्ने आशा त्यो बेला निराशामा परिणत भयो, जतिबेला राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यको बिषयमा ब्यक्ति किटेर निर्णय गर्यो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाबिपरित संबिधानको हुर्मत लिँदै सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय गरेर संबिधानको तेस्रो पटक हुर्मत लिने काम भयो । गौतम राष्ट्रियसभामा जान अयोग्य नेता नभए पनि एकपटक चुनाव हारेको ब्यक्ति चुनाव जितेर आउनेबाहेक संघीय संसदमा प्रवेश गर्ने अनुमति संबिधानले दिँदैन । तर नेकपाले संबिधानको सोही मर्ममाथि प्रहार गर्दै हुर्मत लियो–चुनाव हारेको ब्यक्ति पनि मनोनीत भएर आउन सक्छन भन्ने । जुन निर्णयले उपाध्यक्ष गौतमको समेत हुर्मत मात्र लिएन, अव उहाँ चुनावबाट कहिल्यै जितिदैन भन्ने निश्कर्षमा पुगेको आम नागरिकमा आभाश दिलायो । गौतम जस्तो बलशाली नेताबारे जनतामा यस्तो आभास हुनु नेकपाकै लागि दुर्भाग्इपुर्ण अवस्था हो ।

‘सचिवालयमा रहेका कतिपय नेता कमरेडहरु संबिधानलाई खेलौना हो जस्तो ठान्ने रोग पलायो, यो रोगको तत्कालै उपचार हुन जरुरी छ, अन्यथा भोलि संबिधान नै खाइदेलान भन्न सकिन्न,’ नेकपा स्थायी समितिका एक नेताले जनाताटाइम्ससँग भने । ती नेताका अनुसार आफैले बनाएको संबिधानको यसरी हुर्मत लिने काम नेकपाको अहितमा मात्रै होइन, सिंगो देश र ब्यवस्थाको बिरुद्धमा छ ।