जनता टाइम्स

२७ फाल्गुन २०७६, मंगलवार १४:२०

पर्यटनमन्त्रीसँग चिनियाँ राजदुत : चीन चाँडै कोरोनामुक्त हुन्छ, नेपालमा समस्या भए पूरा सहयोग रहन्छ


काठमाडौं, फागुन २७ । कोरोना भाइरस नियन्त्रणको बिषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग छलफल गर्नुभएको छ । पर्यटनमन्त्री भट्टराईले आज मन्त्रालयमै आमन्त्रण गरी चिनियाँ राजदुतसँग् छलफल गर्नुभएको हो ।

भेटमा कोरोनाभाइरसको सङ्क्रमणले देखिएका समस्या र रोकथाम उपयाहरुबारे कुराकानी भएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिनुभयो । सो क्रममा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनले गरीरहेको कामको बारेमा जानकारी दिनुभयो । राजदूत यान्छीले कोरोनाभाइरसको सङ्क्रमणबाट पीडित भएका करिब ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारीसमेत दिनुभयो । राजदुत यान्छीले चाँडै नै कोरोना भाइरसको सङ्क्रमणबाट चीन मुक्त हुने जानकारी दिनुभएको छ ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदी नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पूरा सहयोग रहने जानकारीसमेत दिनुभएको छ। चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि अपनाएका सबै खालका सहयोग र सूचनाका लागि तयार रहेको उहाँको भनाई थियो । भेटमा पर्यटनमन्त्री भट्टराईले कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरिरहेको बताउनु भयो ।

अन्तराष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालहरुमा वेडको व्यबस्थापन, आवश्यक क्वारेन्टाइनको व्यबस्थालगायतका बिषयमा सरकारले गरिरहेको तयारीको बिषयमा मन्त्री भट्टराईले जानकारी दिनुभएको हो । मन्त्री भट्टराईले कोरोना भाइरसको सङ्क्रमण रोकथामको निम्ती सरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलहरुमा भेला नगर्न सचेत गराएको बताउनु भयो । कोरोना भाइरसको बारेमा सञ्चार माध्यमहरुबाट सचेताना मुलक सूचनाहरु पनि प्रवाह गरिएको उहाँको भनाई थियो ।