जनता टाइम्स

२७ फाल्गुन २०७६, मंगलवार १९:२५

सरकारी अधिकारी साँक्षी राखेर ब्यवसायीले भने–अत्यावश्यकीय वस्तुको अभाव छैन, हुन पनि दिन्नौं


काठमाडौं, फागुन २७ । व्यवसायीहरूले बजारमा अत्यावश्यकीय वस्तुको अभाव नभएको प्रष्ट पारेका छन । उनीहरुले अत्यावश्यकीय बस्तुको अभाव हुन नदिने सामुहिक प्रतिबद्धतासमेत जनाएका छन ।

नेपाल चेम्बर अफ कमर्सले आज सरकारी अधिकारीहरू समेतलाई राखेर आपूर्ति व्यवस्थाको विद्यमानस्थितिबारे गरेको छलफलमा ब्यवसायीहरुले ग्यास, चामल, तेल, नुन, चिनी, औषधीलगायत दैनिक अत्यावश्यकीय बस्तुको अभाव नभएको र आगामी दिनमा पनि हुन नदिने प्रतिवद्धता जनाए । व्यवसायीहरूले खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको स्टक पर्याप्त रहेको तथ्य राखेर अभाव नहुने बताएका हुन । चालम, तेल, दाल उत्पादक संघका अजय पराजुलीले उद्योगहरूमा ४ महिनासम्मलाई पुग्ने खाद्यान्न स्टक रहेको जानकारी दिनुभयो । पराजुलीले उद्योगीले चामलको भाउ नबढाएको भन्दै कुनै पनि हालतमा यी खाद्यान्नको अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

खाद्य किराना थोक विक्रेता संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पनि दाल, चामललगायत अत्यावश्यक सामाग्री प्रशस्त रहेकाले कुनै अभाव नहुने बताउनु भयो । नेपाल वितरण संघका अध्यक्ष राजेन्द्र सिम्खडाले सहज रूपमा खाद्यान्न बिक्री वितरण भइरहेको जानकारी दिनुभयो । साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थानमा ५० हजार बोरा चिनी स्टक रहेको र सोही परिणामको चिनी आउँदै गरेको (बाटोमा रहेको) जानकारी दिनुभयो । श्रेष्ठले दुग्ध संस्थान र औषधि उद्योगलाई बाहेक अन्य संस्थाहरूलाई चिनी बिक्री नगरेको जानकारी दिनुभयो ।

संस्थानले थोक बिक्री बन्द गरेकाले चिनीको अभाव नरहेको र नहुने उहाँको भनाई थियो । उहाँले १० महिनासम्मलाई पुग्ने नुन पनि स्टक रहेको जानकारी दिनुभयो । ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले देशभर दैनिक १ लाख सिलिन्डर खपत हुने र सोही परिणाम बढी ग्यास आइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ग्यासको लोडिङ पनि निरन्तर भइरहेको छ । संघले आफ्ना विक्रेतालाई नयाँ ग्यास सिलिण्डर विक्री नगर्न निर्देश गरेको र नयाँ बिक्री गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको पनि उहाँले बताउनु भयो । उपभोक्ताले आवश्यक भन्दा बढी परिमाणमा ग्यास राख्न थालेकाले नयाँ ग्यास बिक्री गर्न कडाइ गरिएको उहाँको भनाई छ ।