काठमाडौं, फागुन २९
प्रतिनिधिसभामा आज नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव प्रस्तुत हुदैछ । विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुनेछ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ । यसअघि अघिल्लो बैठकमै पेश गरिने कार्यसूची रहेपनि समय अभावका कारण आजका लागि सारिएको हो । उहाको प्रस्तावलाई नेकपाकै सांसद रामकुमारी झाक्रीले समर्थन गर्नुहुनेछ ।
भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले पनि नेपाली भूभाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिएकाले कुटनीतिक र अन्य पहलकदमी गरी अतिक्रमित क्षेत्र नेपाली भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
आजको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेश हुनेछ । ‘कारागार विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने विद्येयक प्रस्ताव पनि आज बस्ने बैठकको कार्यसूचीमा राखिएको छ । गृहमन्त्री रामबहादुर थापाले अन्तरदेशीय संगठित अपराध महासन्धी अन्तर्गतको पालेर्मो अभिसन्धि पनि अनुमोदनका लागि पेश गरिने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्