जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १६:४७

भारतीय राजदुतसँग अर्थमन्त्री खतिवडाको प्रस्ताव : कोरोनाको जोखिम कम गर्न सीमा नाकामा निगरानी बढाउनु पर्छ


काठमाडौं, चैत ८ । अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भेटबार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितको बिषयमा कुराकानी भएको थियो । भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री खतिवडाले नवनियुक्त राजदुतलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिनुभयो । साथै, नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि उहाँले धन्यवादसमेत दिनुभएको छ ।

भेटमा अर्थमन्त्री खतिवडाले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, वित्तीय संघीयताको कार्यान्वयनमा नेपालको अनुभव, बैंक, वित्त र राजस्व क्षेत्रमा भएका सुधार, द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी लगायतका विषयमा जानकारी गराउनु भएको थियो । सो अवसरमा उहाँले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि पनि धन्यवाद दिनुभयो । अर्थमन्त्री खतिवडाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउनु हुँदै यस भाइरसविरुद्ध लड्न सहकार्य गर्न समेत आग्रह गर्नुभयो । उहाँले कोभिड– १९ विरुद्ध भारत सरकारको अगुवाईमा स्थापित १० मिलियन अमेरिकी डलरको आकस्मिक कोषको स्वागत गर्नुभयो । साथै, अर्थमन्त्रीले यस विरुद्ध भारत सरकारले मेडिकल, स्वास्थ्यकर्मी र स्वास्थ्यसँग सम्बन्धित मेशिनरी सामान नेपाललाई सहयोग गर्ने प्रस्तावको प्रशंसा गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले कोभिड १९ को समस्याबाट नागरिकको स्वास्थ्य र सुरक्षामा कुनै जोखिम आउन नदिन दुवै देशले विशेष सजगता अपनाउनु पर्ने धारणा राख्दै यसको जोखिम न्यूनीकरण गर्न दुवै देशको नाकाहरुमा निगरानी बढाउनुपर्ने कुरामा जोड दिनुभयो । यस प्रकोपको समयमा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने र सहकार्यबाट नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभुति गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले विकास आयोजनाहरुको सहज कार्यान्वयनका लागि हाल देखिएका सबै समस्याहरु समाधान गरी भारतीय सरकारको सहयोगमा सञ्चालित विभिन्न पूर्वाधार आयोजनाहरुको निर्माण कार्यमा तिव्रता दिन समेत अनुरोध गर्नुभयो । द्विपक्षीय तथा बहुपक्षीय व्यापारका लागि आवश्यक पूर्वाधार निर्माण, भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुर्नर्निमाण, साना अनुदान कार्यक्रम अन्तर्गत सञ्चालित आयोजनाहरुको निर्माण कार्यमा पनि तिव्रता ल्याउन अनुरोध गर्नुभयो । नेपालमा भारतीय पक्षबाट प्रवद्र्धन गरिएका व्यावसायिक परियोजनाहरुको निर्माण अवस्थाको समीक्षा गर्दै ती परियोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने वातावरण गर्न समेत अनुरोध गर्नुभयो ।

उहाँले नेपाल र भारतबीच हुनसक्ने अवैध र अनौपचारिक व्यापारलाई नीतिगत र प्रणालीगत समन्वय र सहकार्यबाट नियन्त्रण गरी व्यापार, लगानी र वित्तको क्षेत्रको सुदृढीकरण गर्न संयुक्त प्रयास हुनुपर्ने कुरामा जोड दिनुभयो । भेटमा भारतीय राजदूत क्वात्राले नेपाल र भारतबीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसगँ सहकार्य गर्दै अगाडि बढ्ने बताउनुु भयो । उहाँले भारत सरकारले आगामी दिनमा नेपाल सरकारलाई सहयोग बढाउने जानकारीसमेत दिनुभएको अर्थमन्त्रीका प्रेस संयोजक यमन पौडेलले बताउनु भयो ।